हिरासतमा मृत्यु घटनामा दोषीलाई कारबाही नभएको भन्दै आयोगको ध्यानाकर्षण

दिक्तेल रूपाकोट मझुवागढी–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले साउन ८ गते राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

प्रहरी हिरासतमा यातनाका कारण मारिएका छोरा हत्याका दोषीलाई कारबाही नभएको भन्दै साउन ८ गते राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङमा ध्यानाकर्षण पत्र बुझाएको बाबु वुद्धिबहादुर राईले बताउनु भयो ।

कर्तव्य ज्यान आरोपमा ०७० जेठ २८ गते गिरफ्तारीमा परेका भुदेउको ०७० असार २६ मा प्रहरी हिरासतमै मृत्यु भएको थियो ।

छोराको हत्या घटनामा दोषी ठहर भएकाहरूलाई घटना भएको नौ वर्ष बितेपनि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै आयोगको ध्यानाकषर्ण गराएको बाबु वुद्धिबहादुरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

भुदेउको हत्यामा संलग्नको पहिचान भइसके पनि कारबाही नभएको भन्दै परिवारजनले आयोगसमक्ष पीडित पक्षले दोषीलाई कारबाहीका लागि सहजीकरण गरीदिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय खोटाङका उपसचिव श्यामबाबु काफ्लेले बताउनु भयो ।

हिरासतमा रहेको बेला भागेका राईलाई गिरफ्तारी गरी ल्याउने क्रममा प्रहरीले शारीरिक यातना दिएकाले मृत्यु भएको बाबु बुद्धिबहादुरले बताउनु भयो ।

थुनुवा भुदेउको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन डिएसपी राजीव बस्नेत, इन्स्पेक्टर रमेश देवलगायत ११ जना प्रहरी विरूद्घ कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।

आयोगले घटनामा संलग्न डिएसपी बस्नेत र इन्स्पेक्टर देवलाई विभागीय कारबाही गर्न तथा सईहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारी, हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्वन्धी महल बमोजिम कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समक्ष ०७० भदौ १९ गते सिफारिस गरेको थियो ।

अस्थायी इजलास ओखलढुङ्गाको परमादेशले आयोगको निर्णय र सिफारिसलाई सदर गरेको भए पनि न्याय नपाएको मृतकका आफन्त सञ्जीव राईले बताउनु भयो ।

आयोगले थुनुवा राईको यातनाबाट मृत्यु भएको भन्दै घटनामा संलग्न दुई सई, एक हवल्दार, ६ जवानलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलबमोजिम कारबाही गर्न तथा तत्कालीन डीएसपी र निरीक्षकलाई कारबाही गर्न २०७० साउन ३० मा निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

पीडितलाई आयोगको ऐन २०६८ को दफा १६ को ३ बमोजिम ३ लाख क्षतिपूर्ति दिलाउन आयोगले सिफारिस गरेको थियो । तर अहिलेसम्म कार्यान्वयन नभएको मृतकका आफन्त सञ्जीव राईले बताउनु भएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७० असार २७ गते गरिएको थियो ।

सोही दिन शव बुझी दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सद्गत गरेको मृतकका आफन्त सञ्जीव राईले बताउनु भएको छ ।

photo 20220725 Khotang


तारानाथ फुयल