हिरासतमा नै बालकको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रशासनमा उजुरी

  ०७४ भदौ २३ गते

भोजपुर घर भई भीमेश्वर नपा-५ मावली घरमा बस्दै आएका १४ वर्षीय रवी केसीको प्रहरी हिरासत नै मृत्यु भएको भन्दै आफन्तले भदौ २३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

बालक केसीलाई भदौ १८ गते चोरीको आरापमा प्रहरीले गिरफ्तार गरेको आफन्तले बताए भने प्रहरी कार्यालयले भदौ १९ गते गिरफ्तार गरेको जनाएको छ ।

मृतक केसीको जन्म मिति २०६० कातिक २६ गते रहेको बालकका आफन्त रामबहादुर कार्कीले बताए भने जिल्ला प्रहरी कार्यालयले १९ वर्षीय युवक भनेको छ ।

प्रहरी हिरासतमा नै बालक अकस्मात बिरामी भएपछि ०७४ भदौ २२ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा लगिए पनि उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदा बाटोमा मृत्यु भएको हो ।

बालकले पेट दुखेको बताएपछि स्वास्थ्य केन्द्रमा लगेकोमा आन्द्रा फुलेकोले तत्काल अप्रेसनका लागि काठमाडौँ लैजान भनेको र बाटोमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर रमेश प्रधानले बताए ।

बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिँदासमेत उपचारमा ढिलाई गरेकोले मृत्यु भएको भन्दै आफन्तले बालकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

बालकका मामा प्रदिप कार्कीले सामान्य मानसिक सन्तुलन गुमाएका कलिला भाञ्जालाई गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु गैरकानुनी रहेको र मृत्युबारे छानबिन हुनुपर्ने बताए । मृतकका आफन्तले उनको शव बुझ्न मानेका छैनन् ।


उद्धव पोखरेल