हिमाली क्षेत्रका स्थानीयलाई खाद्यान्नको अभाव

जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी हुन नसकेपछि त्यस क्षेत्रका बासीन्दाहरुलाई खाद्यान्न अभाव भएको छ ।

एक हप्ता अगाडी परेको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएपछि स्थानीयहरुलाई खाद्यान्नको अभाव सुरु भएको हो ।

बाक्लो हिउँ जमेर बाटाघाटा बन्द भएपछि आवतजावत बन्द भएको र गाउँहरूबीचको सम्पर्क समेत विच्छेद भएको स्थानीय घुरन बोहराले गुनासो गर्नु भयो ।

साइपालमा सबै भन्दा धेरै जनसंख्या रहेको धलौन गाउँबाट गाउँपालिकाको केन्द्र रहेको काँडा जाने बाटोमा पर्ने रस्यालेकमा बाक्लो हिउँ जमेको छ । यो बाटो भएर उत्तरतिरका काँडा, धुली, न्युना, बलौडी र काया गाउँका स्थानीयले दैनिक उपभोग्य सामग्रीहरू लैजान नपाएको समेत बोहराको भनाइ छ ।

उहाँले भन्नु भयो– ‘सबै घरमा भएको खानेकुरा सकिएको छ । गाउँका पसलहरूमा पनि खाद्यबस्तु छैन् । खाद्यान्न अभाव हुँदा स्थानीयले टोल छिमेकमा ऐचोपैंचो गरेर केही दिन गुजारा चलाए पनि लामो समयसम्म खाद्यान्न आपुर्ति नहुँदा भोकमारीको अवस्था सृजना हुने देखिएको छ ।’

यातायातका साधनहरू नपुगेको जिल्लाको साइपाल गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गर्ने गरिएको छ । हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानीका लागि जाने भेडा, खच्चरहरूको आवतजावतमा समस्या भएको हो ।

साइपाल गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म हिमपातले बाटो अवरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको स्थानीय तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो ।

खाद्यान्न अभाव हुन नदिन ६ महिना पहिले काँडा बिक्री केन्द्रले ३ हजार कुण्टेल खाद्यान्न ढुवानीको ठेक्का पाएको भए पनि ६ महिनासम्ममा ६ सय कुण्टेल मात्रै ढुवानी गरेकोे र मौजात खाद्यान्न कुनै पनि वडामा बाँकी नरहेको जानकारी प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यस विषयमा खाद्यान्न बिक्री केन्द्रलगायत सम्बन्धीत निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमारी हुने चिन्ता बढेको छ । खाद्यान्न अभाव हुन नदिन अवरुद्ध बाटो बनाउने तयारी थालिएको भए पनि हिमपात बढीनै भएकाले तत्काल खोल्न सकिने अवस्था रहेको छ ।’

जटिल किसिमका विरामी स्वास्थ्य संस्थामा उपचार गराउन नआएका भए पनि हिमपातले बाटो अवरुद्ध हुँदा साइपाल गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ३, ४ र ५ स्थित स्वास्थ्य संस्थाहरूमा औषधिको पनि अभाव हुन थालेको धुली स्वास्थ्य चौकीका इन्चार्ज नविन बोहराले बताउनु भयो ।

यस गाउँपालिकामा २ हजार ६ सय बढी जनसंख्या रहेको छ । फापर, कोदोलगायतको बाली उब्जनी हुने यस क्षेत्रमा खेतबारीमा उब्जेको अन्नले दुई महिनासम्म मात्रै खाद्यान्नको अभावलाई थेग्ने गरेको छ ।

खाद्यान्न समस्या समाधान गर्नका लागि यस क्षेत्रका स्थानीयहरु यार्सागुम्बा, सतुवालगायतका जडीबुडी संकलन गर्न अधिंकाश स्थानीयहरु लेकाली क्षेत्र जान बाध्य छन् ।


सत्यराज सिंह