हिमाली क्षेत्रका विद्यालय तीन सातादेखि बन्द, पठनपाठन प्रभावित

  ०८१ जेठ २८ गते

यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ ले नागरिकता नभएका बालबालिकालाई यार्सागुम्बा संकलनको लागि अनुमति नदिएको भएपनि अभिभावकसँगै बालबालिकहरु यार्सा संकलन गर्न लेक गएदेखि हिमाली क्षेत्रका विद्यालयहरु तीन सातादेखि बन्द भएका छन् ।

बालबालिकाहरु विद्यालय आउन छाडेपछि यस क्षेत्रबा विद्यालयहरुमा तीन सातादेखि विद्यालयको  पठनपाठन हुनसकेको छैन् ।

उच्च भेगका शिक्षक र बालबालिकाहरु अभिभावकसँगै व्यवहारिक रुपमा यार्सागुम्बा संकलन गर्न लेकतिर हरेक वर्ष जाने गरेका कारण हिमाली क्षेत्रका विद्यालयहरु बन्दरहने गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

गत जेठ पहिलो सातादेखि अपिहिमालका २४ ओटै सामुदायिक विद्यालय बन्द रहेको अपिहिमाल गाउँपालिका–४ स्थित सरस्वती आधारभूत विद्यालयका प्राधानाध्यापक गोबर्धनसिह धामीले बताउनु भयो । २० दिनको लागि विद्यालय विदा दिइएको हो, उहाँले भन्नु भयो, तर विद्यार्थी अझै लेकबाट नफर्किएका कारण विद्यालय सञ्चालन हुन सकेका छैनन् ।

विद्यालय व्यवस्थापन समितिले चालू शैक्षिक सत्रको लामो विदा ४५ दिनबाट कट्टि हुने गरी २० दिनको लागि विद्यालय विदा दिएको थियो । मुख्य आयस्रोतको रुपमा यार्सागुम्बा रहेको कारण यो सिजनमा हरेक वर्ष विद्यालय बन्द रहने गर्छन् ।

विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताउनु भयो । ‘विद्यालय हामीले मात्रै खोल भन्न सकिने अवस्था छैन्, उहाँले भन्नु भयो, अभिभावक सबैको सहमतिले विद्यालय बन्द गरिएको छ ।’

विगतमा स्थानीय तहले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिइएको थियो ।

विद्यालय खोल्नको लागि विद्यार्थी यो महिनाको अन्तिम साता मात्रै आइपुग्छन् । विद्यार्थी सममयै नआउँदा पठनपाठन हुने अवस्था नरहेको शिक्षक धामी बताउनु हुन्छ ।

सर्वसाधारण तथा विद्यार्थीहरु पाटन उक्लिएपछि अपिहिमाल गाउँपालिकाका धेरैजसो गाउँ सुनसान भएका स्थानीय गगनसिह लोथ्यालले जानकारी दिनु भयो । बालबालिका तथा युवा गाउँमा कोही छैनन् । बृद्धबृद्धा मात्रै गाउँमा घर हेरालुको रुपमा भेटिन्छन् । ।

यार्सागुम्बा संकलकहरुले अनिवार्य रुपमा अनुमतिपत्र लिनु पर्ने प्रावधान भए पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको कारण बालबालिकाहरु पनि कानुन विपरित यार्सा संकलनमा जानेगेरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिह नगारीले बताउनु भयो ।


नरेन्द्रसिह कार्की