हिमाली क्षेत्रका नागरिकलाई नागरिकता बनाउन सास्ती

  ०८० माघ २२ गते

सडक पहुँच नपुगेका अपि हिमाल र व्याँस गाउँपालिकाका नागरिकलाई नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । सडक सुविधा नहुँदा दुई दिन लगाएर सदरमुकाम खलंगा आउनु पर्ने यस क्षेत्रका नागरिकलाई बाध्यता छ ।

व्याँस गाउँपालिका–१ छाङ्गरु टिंकरका नागरिकले अहिले पनि भारतीय बाटो प्रयोग गरी सदरमुकाम आएर नागरिकता बनाउनु पर्ने बाध्यता छ । वडा नम्बर २ देखि ६ सम्मका नागरिकले नेपालतिर सडक पहुँच नहुँदा भारतीय बाटोमा निर्भर रहनुपरेको छ । व्याँस गाउँपालिका–२ दुम्लीङका मुकेश बुढाथोकी भन्नु हुन्छ, नेपालतिर नागरिकता बनाउन जान दुई दिन पैदल हिड्नुपर्छ । सबै कागजात मिल्यो भने मात्रै एक दिनमा नागरिकता बन्छ । सदरमुकाम बस्दा महङ्गो शुल्क तिरेर बाँस बस्नुपर्छ ।

सडक जीर्ण भएकाले यातायातको असहजताका कारण सदरमुकामसम्म जान सहज छैन् । नागरिकताकै लागि सदरमुकाम जानुपर्दा कम्तीमा ५ हजार रुपियाँ खर्च हुन्छ । यहाँका नागरिकले प्रशासनिक सेवा लिन समस्या झेल्नुपरेको छ । सदरमुकाम पुगेर नागरिकता बनाएर एकै दिनमा फर्किन सकिदैन् ।

अपिहिमालका नागरिकले सदरमुकाम आउन १ हजार ५ सय रुपैयाँ एकतर्फी गाडीभाडा तिर्नुपर्छ । टिकटमै ३ हजार, सदरमुकाम खान बस्नका लागि ५ हजार रुपियाँ भन्दा कम खर्च हुँदैन्, अपिहिमाल गाउँपालिका–३ का बसन्ती रोकायाले भन्नु भयो, नागरिकता बनाउन महंगो खर्च हुन्छ । गाउँपालिकासम्म सडक पुगेको छैन् । दुई घण्टा हिडेपछि मात्रै सडक भएको ठाउँ पुगिन्छ । कच्ची सडकमा मनमानी भाडा लिने गर्छन् ।

मार्मा गाउँपालिकाको वडा नम्बर १, ५, ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४, लेकम गाउँपालिका वडा नम्बर ४, ३ र ५ का नागरिकका लागि खडक बाटोको सहज पहुँच छैन् ।

भौगोलिक कठिनाइका कारण जिल्लास्थित कार्यालयबाट सहज सेवा लिन यहाँका बासिन्दालाई समस्या हुने गरेको व्याँस गाउँपालिका–२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताउनु भयो । महाकालीमा तुईन लगायो भने जोखिम उस्तै छ । वर्षेनी तुईनबाट खसेर ज्यान गुमाउँछन् । नेपालतिरै हिडेर सदरमुकाम जान दुई दिन समय लाग्छ । प्रशासनिक सेवा लिनका लागि नागरिकले सास्ती खेप्नुपरेको छ ।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीले कालापानी, लिपुलेक भनेर नारा लगाउने गरिएको भए पनि नागरिकलाई सेवा दिनतर्फ कसैले ध्यान नदिएको बताउनु भयो ।  बाटोको अभावमा व्यासी क्षेत्रका नागरिकहरुलाई आउजाउमै सबै भन्दा बढि समस्या हुने गरेको उहाँले बताउनु भयो ।

यातायातको सहज पहुँच नहुँदा यस क्षेत्रका नागरिकले प्रशासनिक सेवा लिन सास्ती खेप्नु परेको अपिहिमाल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामसिह धामीले बताउनु भयो । विगतमा प्रशासनले घुम्ती सेवामार्फत नागरिकता वितरण गर्दा यस क्षेत्रका स्थानीयलाई केही सहज भएको भए पनि अहिले घुम्ती शिविर सञ्चालन नहुँदा स्थानीयहरुले थप समस्या झेल्नुपरेको उहाँले बताउनु भयो ।


नरेन्द्रसिह कार्की