हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता

  ०८१ मङ्सिर २८ गते

हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् ।

Photo20241212 Humla

सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफयाका विद्यार्थीहरू हिउँ जमेको चौरमा पठनपाठन गर्नु परेको कक्षा १० मा अध्यायनरत छात्रा समिता शाहीले बताउनु भयो । उहाँका अनुसार भित्र कक्षामा चिसो हुने भएकाले विद्यालयका सबै कक्षाका विद्यार्थीले बाहिर हिउँ जमेको खुल्ला चौरमै पठनपाठन गर्नुपरेको हो ।

हिमपातले कक्षा कोठामा निकै चिसो भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताउनु भयो । मङ्सिर महिनामै चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको अरु विकल्प नभएको उहाँको भनाइ छ ।

विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका ३ सय भन्दा बढी विद्यार्थीलाई राखेर पठनपाठन सुचारु गरेको कैलाश माध्यमिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले बताउनु भयो ।
अत्यधिक चिसोका कारण सबै विद्यार्थीहरूलाई बाहिर राखेर पढाउनु पर्ने आवश्यक देखिएको उहाँको भनाइ छ । हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको प्रधानाध्यापक बुढाले बताउनु भयो ।


नन्द सिंह