हिंसा पीडितलाई इन्सेकद्वारा न्यायिक प्रक्रियामा सहयोग

  ०७७ पुस ७ गते

जलजला गाउँपालिका–८ नाग्लिवाङ फर्सेकी ३८ वर्षीया विष्णुकुमारी क्षेत्रीलाई इन्सेक पर्वतले न्यायिक प्रक्रियामा सहयोग गरेको छ ।

घरेलु हिंसा पीडित महिलालाई ४० वर्षीय पति टेकबहादुर क्षेत्रीले  पटक पटक कुटपिट गर्दै आएको र  पछिल्लो समय ०७७ मङ्सिर २८ गते कुटपिट गरेको भनी पीडितले आरोपितविरुद्ध इन्सेकको सहयोगमा पुस ५ गते जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिनुभएको हो ।

photo20201222parbat

पीडित महिला यस अघि पनि पटक पटक घरेलु हिंसाबाट पीडित बनेको र स्थानीय वडा कार्यालय, स्थानीय मिलनचोक प्रहरी चौकीमा उजुरी दिँदा कुनै सुनुवाइ नभएको भन्दै इन्सेक प्रतिनिधि समक्ष न्यायका लागि सहयोग गरिदिन आग्रह गर्दै पुस ५ गते इन्सेक पर्वतमा निवेदन दिनुभएको थियो ।

त्यसपछि आरोपितलाई सोहि दिन झिकाई इन्सेक प्रतिनिधि सन्तोष थापाको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता भएको हो ।

इन्सेकलाई दिएको उजुरीमा पीडित महिलाले घर परिवारमा बस्ने वातावरण मिलाउन र आरोपित पतिलाई तत्काल कारबाहीका लागि माग गरिएको छ ।


सन्तोष थापा