हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

  ०७७ चैत ३० गते

छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ ।

सल्यान जिल्ला शारदा नगरपालिका१४ मालनेटा घर भइ हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ वर्षीया छोरीलाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान गरिएको हो ।

सपनाका पति राज विश्वकर्मा आफ्नी जेठी छोरी पर्मिला विक सहित चैत १८ गतेदेखि फरार रहेका छन् ।

पतिले छाडेर गएपछि भौतारिएकी सपना अहिले आफ्नो ६ महिने छोरीलाई काखीमा च्यापेर बिलखबन्दमा परेकी छिन् ।

कोठामा चामलको गेडो छैन, काखे छोरीलाई दूध किनेर खुवाउने पैसो पनि छैनउहाँले भन्नुभयो– ‘कसैको सहयोग पाए आमा छोरीको परान धान्न सकिन्थ्यो कि ?

उहाँले छोरी सानो भएका कारण सामान्य भाडाधुने काम समेत पाउन समस्या भएको दुखेसो पाेख्नुभयाे । उहाँका पति राज विश्वकर्माले करिब डेढ बर्ष अघिदेखि मिस्त्रीको काम गर्दै आएका थिए ।

कामबाट घर फर्किँदा सँधैजसो रक्सी पिएर आउने र कुट्ने पिट्ने अनि घरेलु हतियार देखाएर त्रासै त्रासमा बाच्नुपर्ने अवस्था आएको उहाँले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आरोपित पतिले पीडितलाई चैत १७ गते बेलुका निर्मम कुटपिट गरेर चैत १८ गते कोठाबाट फरार भएका छन् ।

पति र छोरी सल्यान स्थित घरमा पुगेको खबर आफन्तहरुबाट जानकारी पाएको भएपनि अहिले उनीहरुसगँ कुनै सम्पर्क नभएको सपनाले बताइन् ।

सपनालाई दोस्रो छोरी जन्माएको ११ औँ दिनमा पतिको निर्घात कुटाई सहन नसकेपछि भागेर सल्यान स्थित माईती पुगेकी उनलाई राम्रो व्यवहार नगरिएपछि उनी फर्केर फेरि कुश्मा आइन ।

सुत्केरी भएर गलेको ज्यान बोकेर माईतमा पुँगे,उहाँले भन्नुभयो– 'ज्यान मार्ने धम्की आएपछि फेरि फर्केर आएँ, श्रीमानको वानी व्यवहार भने उस्तै थियो । फर्केर आएपछि पनि कुटपिट भैरहयो । मैले धेरै सहँदै आएकी छु ।

इन्सेकको सहयोगमा आरोपतविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा चैत १८ गते उजुरी दर्ता गरिएको छ ।

बेखर्ची भएर अलपत्र परेकी उहाँलाई इन्सेक मार्फत केही दिनका लागि भन्दै ६ हजार रुपियाँ सहयोग उपलब्ध गराइएको छ ।

तत्कालका लागि समस्या समाधान होस भनेर ५ हजार रुपियाँ सहयोग गरिएको छ ।इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले भन्नुभयो– ‘उहाँलाई आवश्यक पर्ने केही रकम सहयोगी व्यक्तिहरु मार्फत जुटाउनुपर्ने अवस्था रहेको छ ।

photo20211204Parbat


सन्तोष थापा