हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न नगरप्रमुखको ध्यानाकर्षण

  ०७९ असार १० गते

मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवाको टोलीले चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखसहित नगर कार्यसमिति समक्ष हिंसा पीडित महिलाको राहत कोष स्थापना गर्न ध्यानाकर्षण गराएको छ । मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवा संयोजक राजबहादुर महतसहितको टोलीले असार ९ गते ध्यानाकर्षण गराएको हो ।

आगामी आर्थिक वर्ष ०७९/८० को लागि नीति तथा कार्यक्रम छलफल तथा असार १० गते गाउँ तथा नगर सभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पूर्व चन्दननाथ नगरपालिका सहित अन्य पालिकाको ध्यानाकर्षण गरिएको मानव अधिकार रक्षक सञ्जाल तथा नागरिक अगुवा संयोजक महतले बताउनु भयो । उहाँले भन्नुभयो जिल्लामा विपन्न तथा हिंसा पीडित महिला, बालबालिकाहरूको राहत र पुर्न स्थापनाका लागि कोषसहित पुर्नस्थापना गृह अवश्यक रहेकाले राहत कोष र पुर्नस्थापना गृह स्थापना गर्न माग गरिएको हो । हिंसा पीडित महिला तथा बालबालिकाको राहत तथा औषधि उपचार र कानुनी उपचारका लागि पालिका स्तरीय राहत कोष स्थापना गर्न सुझाएको हो । चन्दननाथ नगरपालिकामा भौतिक रुपमै उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको छ भने अन्य गाउँपालिकामा इमेलमार्फत पठाएको छ ।

यस्तै जिल्लाको खाद्य सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ । कृषिमा आत्म निर्भर तथा आयआर्जन गर्नका लागि यहाँका नदी तथा खोलाहरू आवश्यक अनुरुप प्रयोग गर्न सकिने अवस्थामा रहेकाले सिचाई योग्य जमीन भुगोलको उपयोग गरी खाद्य सुरक्षाको सुनिश्चितता गर्न स्थानीय तहलाई ध्यानाकर्षणमार्फत सुझाएको संयोजक महतले बताउनु भयो । रैथाने बाली, स्याउ ओखर लगायत अन्य कृषि जन्यबस्तु फलफुल, आलु तरकारी उत्पादनमा बृद्धि गर्नुका साथै बजारीकरणको व्यवस्थापनमा राज्यको दायित्व हुन्छ । पालिका स्तरीय सुविधायूक्त सित भण्डारको पनि निर्माण गर्न माग गरिएको छ ।

माग पत्र बुझ्दै चन्दननाथ नगरपालिका नगरप्रमुख राजुसिंह कठायतले विपन्न तथा हिंसा पीडित महिला तथा बालबालिकाको राहत कोष र पुर्नस्थापना गृहको स्थापना सबै कोणबाट कुरा उठेको बताउनु भयो । उहाँले भन्नुभयो आवश्यकता पनि महसुस भएकोले नीति तथा कार्यक्रममा समाबेश गरिने छ ।

Jumlaphoto20220624 (1) Jumlaphoto20220624 (2) Jumlaphoto20220624 (3)


मानदत्त रावल