हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले घरेलु हिंसा घटनाका पीडित राजगढ गाउँपालिका–४ बेल्हीचपेनाकी २५ वर्षीया अनुकुमारी साहलाई ०८० चैत १९ गतेआर्थिक सहयोग गरेको छ ।
राजविराज स्थित इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा इन्सेक सदस्य बैद्यनाथ झाले पीडितलाई १० हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल, सहजकर्ता अजय परियार, एकल महिला समूहकी प्रदेश अध्यक्ष तथा महिला मानव अधिकार रक्षक सञ्जालकी सप्तरी अध्यक्ष अनिता देवकोटा, सप्तरी जिल्ला बार इकाईका निवर्तमान अध्यक्ष डोमन साह, मेचीमहाकाली बुहारी संयुक्त आवाज सप्तरीकी कोषाध्यक्ष नानीमैया कटवाल र श्रीवती पासवानको उपस्थिती रहेको थियो ।
घरनिकाला भएपछि मजदुरी गरेर जिविकोपार्जन गरिरहनु भएकी साहले आर्थिक अवस्था कमजोर भएको भन्दै इन्सेक सप्तरी जिल्ला प्रतिनिधिसँग आर्थिक तथा न्यायका लागि पहल गरिदिनु हुन निवेदन दिनु भएको थियो । सोही निवेदनको आधारमा अवस्था अध्ययन, अनुगमन गरी पीडितलाई सहयोगका लागि सिफारिश भए बमोजिम इन्सेक मधेस प्रदेश कार्यालयले पीडितलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले बताउनु भयो ।
राजगढ गाउँपालिका–४ बेल्हीचपेनाका ४२ वर्षीय खरानन्द साहले पीडितलाई नाबालकैमा विद्यालय जाँदा अपहरण गरी भगाई भारतको मुम्बई लगेर यौन शोषण गरेको र औषधि सेवन गराई गर्भपतन गराएको पीडितले बताउनु भयो । नाबालकैमा बुबा, दाजुलाई मार्ने तथा अश्लिल तस्विर बनाई फेसबुकमा हाल्ने धम्की दिई यौन शोषण गर्ने गरेकोमा पछि उनैसँग विवाह गर्न बाध्य भई कान्छी पत्नीको रुपमा रहेको पीडितले बताउनु भयो । खरानन्दकी जेठी पत्नी ४० वर्षीया राजदेबी साह तर्फ १ छोरा र ३ छोरी छन् भने पीडिततर्फ २ वर्षीया छोरी छिन् ।
पीडितको छोरी भएदेखि पति सहित ७० वर्षीया सासु जंगलीदेबी साह, ४० वर्षीया सौता राजदेबी साह, ३२ वर्षीय देवर कमलनारायण साह र ३० वर्षीया देवरानी सुनितादेबी साहले दैनिक कुटपिट गर्न थालेपछि पीडितले जिल्ला अदालतमा ०७८ फागुन २ गते मानाचामल, सम्बन्ध विच्छेद र अंशदर्ता तथा ०७८ फागुन ३ गते घरेलु हिंसाको उजुरी दिनुभएको थियो । घरेलु हिंसामा अदालतले ०७८ फागुन ४ गते अन्तरकालिन आदेश जारी गरेको छ ।
पीडितले बताए अनुसार सोही मुद्दाको रिसइबीलिई ०७९ मङ्सिर ९ गते राजविराज नगरपालिका–६ हुलाकी सडक स्थित घर नजिकै आरोपितले सिटी रिक्शाबाट ओराली घरभित्र बन्धक बनाई छोरा नविनलाई बोलाई लाठी, मुक्काले कुटपिट गरी घाँटी थिचेर मार्न खोजेका थिए । पीडित रोइकराई चिच्याएको सुनेर गस्तीमा रहेको प्रहरीले पीडितको उद्धार गरेको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ०७९ मङ्ंसिर ९ गते उपचार भयो ।
सो घटनाका बारेमा मङ्ंसिर ११ गते पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन इन्कार गरेको पीडितले बताउनु भयो । सिडिओले समेत उक्त काम प्रहरीको हो भन्दै निर्देशन दिन नमानेको तथा ०७९ मङ्सिर १६ गते हुलाक मार्फत रजिष्ट्री गरी पठाएको उजुरी समेत प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गर्नुभयो ।
अन्ततः उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको उजुरी दिनुपरेको भन्दै पीडितले अदालतबाट ०८० असोज १९ गते परमादेश जारी भएपनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेर अदालतको अपहेलना गरेको बताउनु भयो । मामा घर विस्थापित भएकी पीडितले हाल मजदुरी गरेर जिविकोपार्जन गरिरहनु भएको छ ।
अदालतको परमादेश अनुसार प्रहरीले उजुरी दर्ता नगरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी ब्रजाचार्यविरुद्ध ०८० फागुन ४ गते अदालतको अपहेलनाको उजुरी दिनु भएको छ । एसपी ब्रजाचार्यले अदालतबाट परमादेश भएका उजुरी दर्ता भइ कारवाही अगाडि बढ्ने बताउँनु भयो । उहाँले इन्सेक प्रतिनिधिसँगको भेटमा पीडितलाई प्रहरी कार्यालयको मुद्दा शाखामा पठाउन वा समस्या भए सोझै आफ्नो कार्यालय कक्षमा पठाउन अनुरोध गर्नुभयो ।
पीडितका पति ४२ वर्षीय खरानन्द साहसहित परिवारका सदस्यविरुद्ध परेको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न उच्च अदालत जनकपुर राजविराज इजलासले ०८० असोज १९ गते परमादेश जारी गरेको छ । सो परमादेश बमोजिम पुस १८ गते उच्च सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराए पश्चात पुस २४ गते सनाखत गराउन निवेदनसाथ पीडित जिल्ला प्रहरी कार्यालय जानु भएको थियो । पीडितका अनुसार जिल्ला प्रहरी कार्यालयले माघ ५ गते आउनु भनेकोमा सोही मितिमा जाँदा डिएसपी ढुण्डिराज नेउपानेले पतिपत्नीको झैझगडा सामान्य हुने भएकोले केही गर्नु नपर्ने बरु मुद्दा नचल्ने गरी उजुरीलाई तामेलीमा राखिदिने भने । गुनासो लिएर जाँदा एसपी बज्राचार्यले भेट नदिएको र अदालतको परमादेश अनुसार उजुरी दर्ता पनि नगरेकोे भन्दै पीडितले फागुन ४ गते अदालतको अपहेलनामा कारवाहीको माँग गर्दै उजुरी दिनुभएको हो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…