बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते

  ०७३ मङ्सिर १७ गते

मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा ताल्चा लगाउन पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।

झडपमा परि अन्दाजी ३४ वर्षीय प्रहरी हवल्दार धनसिं गुरुङ घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ तान्द्राङ-१ का ५४ वर्षीय वलराम पाण्डे, फुजेलका ४८ वर्षीय मेगनाथ न्यौपाने र धादिङ जिल्ला मैदी गाविस-१ का महाप्रसाद लामिछाने घाइते भएका छन् । उनीहरूको उपचार धादिङ बेनिघाट स्थित मेडिकलमा गरिएको जनाइएको छ ।

सुरक्षाको घेरा ताडेर कार्यालयमा जबरजस्ती ताला लगाउन खोजेपछि लाठीचार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले बताए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ३४ सेल अश्रूग्याँस पनि प्रहार गरेको पाण्डेयले बताए । आक्रोशित भिडले कार्यालयमा ढुङ्गामुढा गर्दा कार्यालयको १४ वटा झयालको सिसा फुटेको पनि प्रहरीले जनाएकोछ ।

सिउरिनटार दिइएको मुआब्जालाई आधार मानेर वाषिर्क १० प्रतिशतले मुल्यवृद्धि जोडेर न्यूनतम मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै प्रभावितहरू आन्दोलनमा उत्रिएका हुन् । मुआब्जा निर्धारण समितिले भने डुवान क्षेत्रको जग्गालाई प्रति रोपनी न्यूनतम ५ लाख २५ हजार देखि अधिकतम ८ लाख ३५ हजार रुपियाँ सम्म मुल्य निर्धारण गरेको छ ।

आयोजनाका कारण जिल्लाको १४ गाविस प्रभावित हुनेछन् । ती गाविसमा जग्गाहरूलाई ११ भागमा विभाजन गरी मुआब्जा निर्धारण गरिएको हो । आफूहरुको शान्तिपूर्ण आन्दोलमा प्रहरीले हस्तक्षेप गरेको वुढीगण्डकी आयोजना सरोकार समितिका संयाजक हरेराम ढकालले आरोप लगाए ।


हरिराम उप्रेति