हिंसाले बढ्दो आत्महत्या !

  ०७९ असोज १८ गते

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया सङ्गीता मण्डलको लागि न्यायको पहल भएको भए शायद सङ्गीताले आत्महत्याको बाटो रोज्दिन थिइन् । सामूहिक बलात्कारपछि कारवाही गर्न गाउँका पञ्चहरूले नरोकेको भए वा पीडितको अस्मिताको ‘मुल्य’ तोक्दै दुर्व्यवहार र अपमान नगरेको भए सङ्गीताको मनमा आत्महत्याको ख्याल आउँदैन थियो । उनकी आमा रधियादेवीको तर्कना हो यो ।

स्थानीय चार जनाले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन ०७७ भदौ ३० गते सङ्गीताले आत्महत्या गरेकी थिइन् । भदौ ३० गते सबैभन्दा पहिले इन्सेक अनलाइनमा ‘बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या’ शीर्षकको समाचार सार्वजनिक भयो । आफ्नो पीडामा गाउँलेको सहयोग पाउने पीडितले अपेक्षा गरेकी थिइन् तर जघन्य अपराधका घटनामा मिलापत्र गराउन खोज्दा पीडित परिवारमा थप पीडा थपियो ।

सँगै मर्ने बाँच्ने कसम खाएर भागी विवाह गरेको पाँच महिनामै सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योती पासवानले ०७८ साउन २३ गते आत्महत्याको बाटो रोजिन् । प्रेमविवाह गरेका सोही ठाउँका २५ वर्षीय कन्हैया भनिने कृष्ण मिश्रको दुरुत्साहनले आत्महत्या गरेको भन्दै पीडितका बुबा प्रमोद पासवानले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७८ साउन २६ गते उजुरी दिए । सोही दिन इन्सेक अनलाइनमा ‘जातीय विभेदका कारण आत्महत्या गरेको भन्दै उजुरी’ शीर्षकमा समाचार छापियो । जातीय विभेदका कारण घरसम्पतिबाट बेदखल भएकी पीडितलाई चार महिनापछि मिश्रले समेत घरपरिवारको दबाबमा अलपत्र छाडेर सम्पर्कविहिन भएपछि डिप्रेसनमा परेर आत्महत्या गरेको पासवानले बताउनु भयो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका फार्मेसी सहायक राजन साफीको कोभिड–१९ का कारण मृत्यु भएपछि अस्पतालमै कम्प्युटर अपरेटरको काम गर्न थालेकी राजविराज नगरपालिका–२ की २४ वर्षीया रुबी साफीको शव झुण्डिएको अवस्थामा ०७८ असोज १९ गते बिहान फेला पर्‍यो । घरपरिवारका सदस्यले निरन्तर आर्थिक, शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडितका बुबा सप्तकोशी नगरपालिका–८ ओद्राहाका रामकृष्ण साफीले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७८ कात्तिक ८ गते दर्ता गर्‍यो । इन्सेक अनलाइनमा ०७८ कात्तिक ९ गते ‘आर्थिक हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै दुरुत्साहनको उजुरी दर्ता’ समाचार प्रकाशन भयो ।

विश्व स्वास्थ्य सङगठनले सन् १९९३ देखि मनोरोगका रुपमा परिभाषित गरेको आत्महत्याको घटना सप्तरीमा पनि बर्सेनी बढिरहेको छ । विकराल सामाजिक समस्याको रुपमा देखिएको आत्महत्या घटनाको अनुसन्धान गर्ने हो भने हिंसा र विभेद प्रमुख कारण रहेको अधिकारकर्मीहरूको दावी छ । हिंसा र विभेदका कारण महिला आत्महत्याको सङ्ख्या बढेको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाको भनाइ छ । पुरुषहरूमा भने घरपरिवारको बढी अपेक्षाका कारण उत्पन्न हुने उदासिनता आत्महत्याको प्रमुख कारणका रुपमा रहेको बताइन्छ । आर्थिक वर्ष ०७८/०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आत्महत्यामा झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या बढी छ । आर्थिक वर्ष ०७८/०७९ मा ४८ पुरुष र ५६ महिलाले झुण्डिएर तथा १३ पुरुष र १९ महिलाले विष सेवन गरेर आत्महत्या गरेको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

आत्महत्या प्रयास गरेर जोगिने १० गुणा बढी छन् । आत्महत्या प्रयास गरेर उपचारका लागि ल्याइएका पीडितको तथ्याङ्कले अस्पतालका लागि समेत यस्ता घटना चुनौती बन्दै गएको देखिन्छ । अधिकांश विष सेवनका घटना आउने र त्यसमध्ये तत्काल कुन विष सेवन गरे भन्ने एकिन नहुँदा उपचारमा समस्या हुने गरेको अस्पतालका डाक्टर रणजितकुमार झाले बताउनु भयो । सप्तरीमा आर्थिक वर्ष ०७६/०७७ मा ९५ रहेको आत्महत्या घटनाको सङ्ख्या आर्थिक वर्ष ०७७/०७८ मा बढेर १ सय १८ पुग्यो । त्यो सङ्ख्या आर्थिक वर्ष ०७८/०७९ मा १ सय ३६ पुग्यो । आर्थिक वर्ष २०७९/०८० को साउनमा नौ महिला र चार पुरुष तथा भदौमा पाँच महिला र चार पुरुष गरी २२ जनाले सप्तरीमा आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा छ । सार्वजनिक हुन नसकेका र डर, लाजका कारण गुपचुप लुकाइएका आत्महत्याका घटना अझै हुन सक्ने अनुमान सामाजिक क्षेत्रमा कार्यरत गैससकर्मीहरूको रहेको छ । मृत्यु दर्ताको तथ्याङ्क अध्यावधिक गर्ने नियम कडाईको अभावमा यो सङ्ख्या अझ बढी हुने अनुमान सहज रुपमा लगाउन सकिने गैसस सप्तरीका कार्यवाहक अध्यक्ष बलदेव मण्डल बताउनु हुन्छ ।

आत्महत्या गर्नेमा वयस्क उमेरका मात्र हैन, बालबालिकाको सङ्ख्या समेत बढदै गएको छ । पछिल्लो समय आत्महत्या गर्ने बालबालिकाको सङ्ख्यामा भएको बृद्धि डरलाग्दो चुनौती बनेको छ । नयाँ आर्थिक वर्षको २ महिनामा पाँच बालिका र दुई बालकले सप्तरीमा आत्महत्या गरेको घटना दर्ता छ । घरायसी झगडा, प्रेममा असफलता, मानसिक तनाव सहन गर्न नसकेर आत्महत्याको बाटो रोज्ने बालबालिकाहरूको सङ्ख्या बढ्दो रहेको प्रहरीको भनाइ छ । तर, कुटपिट र गाली गर्ने अभिभावकका सन्तानले बढी मात्रामा यस्तो गलत बाटो रोज्ने गरेको पाइएको छ । गत आर्थिक वर्षमा आत्महत्या गर्नेमा १०–२० वर्षका १९ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी २१–३० वर्षका ४५ जना, ३१–४० वर्षका ४१ जना, ४१–५० वर्षका ३२ जना रहेको प्रहरीको तथ्याङ्कमा छ ।

मानसिक स्वास्थ्य परामर्श केन्द्र नेपालका अनुसार एउटा आत्महत्या घटनाले १ सय ३५ व्यक्तिलाई कल्पनै नगरेको अप्ठेरा र समस्याहरू आइलाग्ने जनाएको छ । आत्महत्या गर्न खोज्नेमा बालिका र महिलाको सङ्ख्या बढी देखिएको छ । मनोवैज्ञानिकहरूका अनुसार बालकहरूको तुलनामा बालिकाहरूमा यस प्रकारको प्रवृत्ति बढी देखिन्छ । बाहिर देखिने धेरैजसो कुरामा भावनात्मक कमजोरी, संवेदनात्मक आवेग, गम्भीर अवस्थामा डिल गर्न सक्ने क्षमताको कमी नै आत्महत्याका कारक बनेको पाइन्छ । बढीजसो परिवारका सदस्यले गाली गर्दा, कुटपिट गर्दा, हेपिएको महसुस गर्दा, रोजेको समान नकिनी दिदा, बाहिर घुम्न मेलाबजार नलैजाँदा, मन पराएकासँग विहे नगरि दिँदा वा मन नपरेकासँग जबरजस्ती विहे गरि दिँदा बालबालिकाहरूले आत्महत्या गर्न खोजेको देखिन्छ । महिलाको आत्महत्यामा भने हिंसा र विभेद नै प्रमुख कारण रहेको पीडितहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार वर्षेनि करिब १० लाख मानिसले आत्महत्या गर्छन् । यो सङ्ख्या समस्त प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतङ्ककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्यु दरभन्दा बढी हो । नेपालमा समेत दैनिक औसत १६ जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५ हजार ३ सय २४ जनाले, २०७४/०७५ मा ५ हजार २ सय १५ जनाले, २०७५/०७६ मा ५ हजार ७ सय ५४ जनाले, २०७६/०७७ मा ६ हजार २ सय ७९ जनाले, २०७७/०७८ मा ७ हजार १ सय ४१ जनाले र २०७८/०७९ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन् । यो अप्राकृतिक मृत्युका कारणमध्ये सबैभन्दा उच्च हो ।

बालिविरुवामा प्रयोग गर्न र मुसा मार्ने प्रयोजनका लागि घरमा रहने किटनाशक औषधि सजिलै उपलब्ध हुनु र सहजै पासो लाग्ने डोरी भेटिनुले आत्महत्याको सङ्ख्या ह्वात्तै बढेर गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा नेपालमा सबैभन्दा बढी ५ हजार ६ सय ८४ जनाले झुण्डिएर, १ हजार ४० जनाले विष खाएर, ४२ जनाले हातहतियारबाट, ३३ जनाले डुबेर, १७ जनाले करेण्ट लगाएर र १४ जनाले आगो लगाएर आत्महत्या गरेका छन् ।

मनमा डिप्रेसन तथा आत्महत्या गर्ने कुरा कहिले र कुन अवस्थामा आउँछ भन्न सकिंदैन । मनोमिर्शकर्ता रञ्जना चौधरीका अनुसार विशेष गरी भावनात्मक आवेग तथा कुण्ठाको स्थितिमा मानिसहरू आफैंलाई नोक्सान पुर्‍याउँछन् भने कतिपय स्थितिमा आत्महत्या गर्ने निर्णय लिन्छन् । अरुलाई नोक्सान पुर्‍याउन नसक्ने भए पछि आफुलाई नै नोक्सान पुर्‍याएर अरुलाई दुख दिने सोंच उनीहरूको हुन्छ ।

आत्महत्या कम गर्ने उपाय
घरको वातावरण सकारात्मक राख्नुपर्ने मनोविमर्शकर्ता रञ्जना चौधरीको भनाई छ । परिवारका सदस्यसँग राम्रो सम्बन्ध विकसित गर्नुपर्ने घरमा झगडा, गालीगलौज एवं अपशब्दको प्रयोग गर्न नहुने उनको भनाई छ । अर्का मनोविर्मशकर्ता कविता जायसवालले परिवारका सदस्यसँग धेरैभन्दा धेरै समय बिताउनुपर्ने तथा अरुका पति, पत्नी, छोराछोरीसँग तुलना गर्न नहुने बताउनु हुन्छ । व्यंग्य गर्ने, अपमानित गर्ने तथा अत्यधिक अनुशासनमा राख्न खोज्ने कामको परिणाम राम्रो नहुने उहाँहरूको भनाई छ । भावनात्मक समस्या हटाउन एकअर्काको कुरा सुन्न तथा बुझ्न आवश्यक रहेको जायसवालले बताउनु भयो ।

 


मनोहरकुमार पोखरेल