हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या

  २०८१ वैशाख २५

त्रिपुरासुन्दरी नगरपालिका –११  हुम गाउँ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाउँदा एक हप्तादेखि पठनपाठनमा समस्या भएको हो ।

०८१ वैशाख १९ गते आएकाे हावाहुरीले विद्यालयको छाना उडाउँदा खुला चौरमा बसेर पठनपाठन गर्न बाध्यता रहेको कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र सनराज पुन मगरले बताउनु भयो ।

विद्यालय भवनको छाना एक हप्ता सम्म मर्मत नभएकोले चर्काे घाममा खुला चौरमा बसेर पठनपाठन गर्न बाध्यता रहेको सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा कल्पना पुनले बताउनु भयो ।

शिशुदेखि कक्षा ५  सम्म पढाइ हुने  विद्यालयको अन्य भवन नहुँदा खुला चौरमै विद्यार्थीहरुलाई राखेर पठनपाठन गराउनु परेको विद्यालयका  प्रधानाध्यापक कृष्ण महताराले  बताउनु भयो । भवन मर्मतको लागि वडा कार्यालय र नगरपालिकामा पहल भएको छ । विद्यार्थीलाई यसरी खुला चौरमा राख्दा स्वास्थ्यमा असर पर्ने गरेको उहाँले बताउनु भयो ।

वडामा कार्यालयमा बजेट नभएको कारणले पनि तत्काल भवन मर्मत हुन नसकेको त्रिपुरासुन्दरी नगरपालिका–११ का वडा अध्यक्ष चन्द्ररुप डसालले बताउनु भयो। उहाँले भन्नु भयो ‘वडा कार्यालयमा  बजेट छैन आफूले पनि नगरपालिकासँग भवन मर्मतको लागि पहल गरिरहेको छु मर्मत हुन अझै कति समय पो लाग्ने हो ।’

विद्यालय भवनको छाना उडाएपछि  पठनपाठनमा समस्या भएको भन्ने बारे जानकारी प्राप्त भएको छ ।  नगरपालिकाको प्राविधिक सहितको टोली पठाएर अनुगमन भएको छ । समस्या समाधानको लागि अहिले तत्काल जस्ता पाताको व्यवस्था गर्ने र आगामी आर्थिक वर्षमा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिने त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर थापाले बताउनु भयो ।

Photo20240507Dolpa (1)

Photo20240507Dolpa (2)

 


पुर्ण सार्की