हाकु स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

आमाछोदिङमो गाउँपालिका-१, ठूलोहाकुमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

२०७२ सालमा आएको भूकम्पले क्षति पुगेको सो स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा निर्माण कार्य पूरा हुन सकेका छैन । निर्माणको जिम्मा पाएको कम्पनीले काम अलपत्र पार्दा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई सेवा प्रवाहमा कठिनाई भएको हो ।

बुद्ध कन्ट्रक्सनले तीन वर्षदेखि काम थाले पनि एक ढलान मात्र गरेर बेखबर भएकोले कन्ट्रक्सनको मुख्य मान्छे खोजी भइरहेको आमाछोदिङमो गाउँपालिका-१ का वडा अध्यक्ष साङ लामा तामाङले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य चौकी भवन निर्माणमा ढिलाई भएकोले स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको हो । आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पु तामाङले एक वर्षअघि ढलान भएको तर फिनिसिङ नगरिकन निर्माण कम्पनी भागेको बताउनु भयो ।

पुरानो साँघुरो भवनमा बिरामी जाँच्नेदेखि सबै काम गर्ने गरेको छ । दुःखले स्वास्थ्य सेवा प्रवाह गर्नु परेको छ भने हाकु स्वास्थ्य चौकीका लागि खरिद गरेर ल्याइएको ल्याबको सामग्री गाउँपालिकामै थन्किएरको छ । बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीमा भवन अभावले सुत्केरी गराउन समेत समस्या परेको छ ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, ‘चार वर्षदेखि सुरु भएको भवन निर्माण अझै पुरा हुन सकेको छैन ।’ स्वास्थ्य चौकीमा एक जना सहयोगी र चार जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

त्यसै गरी गोल्जुङमा स्थानीय अस्पताल निर्माणका लागि टेण्डर समेत भएको आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पु तामाङले बताउनु भयो ।

Photo_080-9-5_Rasuwa


हेमनाथ खतिवडा