हसिँया बोक्ने किसानका हातमा सरकार विरोधी प्लेकार्ड, तत्काल दूधको रकम भुक्तानी माग

हरेक दिन सखारै गोठको काम गरेपछि अपरान्हृको समय गाईभैँसीका लागि खुँडो-खोले र घाँसको जोहोको लागि हसिँया लिएर भीरकान्ला गर्ने धनकुटा नगरपालिका-२ भीरगाँउका ४६ वर्षीय पशुपालक किसान मोहन बस्नेतको हातमा आजभोलि सरकारको विरोधमा लेखिएको प्ले कार्ड छ ।

Photo 20240229 Dhankuta (4)
दूध विक्रिको भुक्तानी माग गर्दै जिल्ला प्रशासन कार्यालय, धनकुटामा धर्ना दिँदै जिल्लाका पशुपालक किसान ।

दूग्ध उत्पादक किसान बस्नेत आजभोली सदरमुकाम र जिल्ला प्रशासन कार्यालय परिसरभित्र सरकारको विरोधमा हुनुहुन्छ । पशुपालक किसानले दुखजेलो गरेर दूध बिक्री गरेको पैसा नपाएपछि किसान दूधको पैसा भुक्तानी गर्नेहरू विरोधमा धनुकटाका किसानले गर्नु परेको छ ।

दूध खरिद गर्ने सरकारीसहित निजी कम्पनीले लामो समयदेखि दूधको रकम निकासी नगरिदिँदा जिल्लाका दूध उत्पादक किसानहरू समस्यामा छन् । उनीहरूको आर्थिक अधिकारसमेत सङ्कुचित हुन पुगेको छ । वितेको सात महिनायता दूध बेचेको रकम नपाउँदा आफूहरू समस्यामा परेको कृषक मोहन बस्नेतको गुनासो छ । उहाँले सात महिनादेखि दूधको पैसा नपाउँदा बालबच्चालाई कापी, कलम किन्न र गाईलाई खुवाउने दाना खरिद गर्न नसकेको बताउनु भयो ।

जिल्लाका धेरै कृषकको मुख्य आम्दानीको स्रोत नै दूधविक्री हो । व्यवसायिक पशुपालनमा लागेका कृषक अहिले व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको दूग्ध उत्पादक जिल्ला सहकारी सङ्घका अध्यक्ष तथा महालक्ष्मी नगरपालिका-२ मारेकटहरेका ४२ वर्षीय कृषक नारद कटुवालले बताउनु भयो । उहाँले भन्नुभयो “हामीले ०८० साउनको १५ यता पैसा पाएको छैनौ, अहिले घाँसदेखि दानापानी सबैको लागि पैसा चाहिन्छ ।” “दूूधको पैसै आउँदैन अब यो पेसाबाट पलायन हुने अवस्था आएको छ ।” कटुवालजस्तै जिल्लाका पशुपालक कृषकलाई डीडीसीले ११ करोड रुपियाँ हाराहारीमा भुक्तानी दिन बाँकी छ ।

जिल्लाका धेरैजसो किसानले सहकारीमार्फत सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान(डिडीसी) लाई दूध बिक्रि गर्दै आएका छन् । डीडीसीले सहकारीलाई रकम भुक्तानी नगर्दा किसानले सहकारीमार्फत दूधको रकम पाउन सकेका छैनन् । छथर जोरपाटी गाउँपालिका-१ स्थित हात्तीखर्क बहुउद्देश्य सहकारी संस्थाले नेपाल सरकार स्वामित्वको दूग्ध विकास संस्थानबाट रकम भुक्तानी नपाएको सात महिना भइसकेको छ । ०८० साउन १५ गतेसम्मको भुक्तानी पाएको संस्थाले त्यसयता भुक्तानी पाएको छैन । सो संस्थाले दूग्ध विकास संस्थानबाट करिब २ लाख ५० हजार लिटर दूधको करिब १ करोड ५० लाख रुपियाँ भन्दा बढी रकम लिन बाँकी छ ।

सहकारीले दूग्ध विकास संस्थानबाट रकम नपाएपछि कृषकलाई सात महिनाको अवधिमा भुक्तानी दिन नसकिएको हात्तीखर्क बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बुढाथोकीले बताउनु भयो । डीडीसीसँग आफूले पाउने रकम माग्दासमेत संस्थानले आनाकानी गर्ने गरेको अध्यक्ष कमलबहादुर बुढाथोकीको भनाइ छ । अध्यक्ष बुढाथोकीले भन्नभुयो- भुक्तानी मागको लागि विराटगरसम्म पटकपटक पुगेको तर नबिकेको घ्यू देखाएर बिक्री भएपछि पैसा दिने भनेर पठाउने गरेको छ । पैसा समयमै भुक्तानी नपाउँदा कृषक यो पेसाबाटै पलायन हुने अवस्थामा पुग्नुको साथै सहकारीसमेत बन्द हुने अवस्थामा पुगेको छ ।

धनकुटा नगरपालिका-१ हिलेस्थित श्री चञ्चलादेवी बहुउद्देश्यीय दूग्ध उत्पादक सहकारी संस्थाको अवस्था उस्तै छ । लामो समयदेखि भुक्तानी रोकिएपछि कृषकलाई पैसा कसरी दिने भन्ने सङ्कट सहकारीलाई छ । पैसा नआएको सात महिना भयो, कृषकलाई कसरी भुक्तानी दिने भन्ने पिरलो छ, व्यवस्थापक भीम मल्लले भन्नुभयो । लामो समयदेखि पैसा नपाएपछि कृषक आन्दोलित भएको व्यवस्थापक मल्लको भनाइ छ ।

लामो समयदेखि दूग्धजन्य परिकारहरू बिक्री वितरण नभइ गोदाममै थन्किएकाले भुक्तानी दिन नसकिएको दूग्ध विकास संस्थान विराटनगरले जनाएको छ । दूग्ध उत्पादन बढी सङ्कलन हुन थालेको तर उत्पादित परिकारको बिक्री भने क्रमशः घट्न थालेकाले भुक्तानी रोकिएको दूग्ध विकास संस्थान, विराटनगरका प्रमुख प्रमेश्वर चौधरीले बताउनु भयो ।

जिल्लाबाट दूध लाने निजी डेरी उद्योगको पनि अवस्था उस्तै छ । निजी डेरीहरूले समेत समयमा दूधको रकम भुक्तानी गर्न सकेका छैनन् । सुरूसुरूमा राम्रै भुक्तानी दिएर दूध लैजाने गरेका संस्थान तथा निजी डेरीले गत वर्षबाट भने नियमित भुक्तानी दिन छोडेका हुन् । तर यो वर्ष भने अनियमित मात्र हैन सात महिना बित्दासमेत किसानलाई दूधको पैसा भुक्तानी दिन सकेका छैनन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर  दूध सङ्कलन हुने गरेको छ । जसमध्ये ७० प्रतिशत दूध जिल्ला बाहिर दुग्ध विकास संस्थान र निजी डेरीमार्फत निकासी हुने गरेको छ ।

नेपालको संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भनी उल्लेख छ । तर, जिल्लाका किसानले सरकारी स्वामित्व कै डीडीसीलाई दूध बिक्रि गरेको सात महिनासम्म पनि भुक्तानी पाउन सकेका छैनन् । दुध बिक्रि अघि डीडीसीले हरेक किसानसँग हरेक १५-१५ दिनमा भुक्तानी दिने भनि सम्झौता गरेको भएपनि सात महिनासम्म भुक्तानी नभएपछि भुक्तानीको माग गर्दै जिल्लाका दूग्ध उत्पादक किसान आन्दोलित छन् ।

किसानले ०८० फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत् सरकारलाई ज्ञापन पत्र समेत पठाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित निकायमा पठाउने बताउनु भयो ।

दूध खरिद गर्नुअघिको सम्झौता अनुसार भुक्तानी नभएपछि आन्दोलन गर्नुपरेको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घका सचिव तथा छथर जोरपाटी गाउँपालिका-२ जोरपाटीका किसान रोम बाजिम्पाकले बताउनु भयो । उहाँले दूधको रकम भुक्तानी विषयमा डीडीसीको विराटनगर वितरण आयोजना, डीडीसी केन्द्रीय कार्यालय र कृषि मन्त्रीलाई भेटेर तत्काल सम्बोधन गर्न अनुरोध गरेपनि सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताउनु भयो ।

देशभरका दूग्ध किसानहरूको सरकारी स्वामित्वमा रहेको डीडीसीलगायतका अन्य डेरी उद्योगीहरूले विगत सात महिना अघिदेखिको ६ अर्ब बढीको भुक्तानी वक्यौता रहेको केन्द्रीय दूग्ध सहकारी सङ्घ लिमिटेडका नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरले बताउनु भयो । संघले फागुन १७ गते जिल्ला दूग्ध उत्पादक सहकारीको सङ्घहरूको नेतृत्वमा बिहान १० देखि १२ बजेसम्म दुइ घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्का जाम र फागुन २१ गते देशभरका किसानहरूलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।

Photo 20240229 Dhankuta (1)

Photo 20240229 Dhankuta (2)

Photo 20240229 Dhankuta (3)


ईश्वर थापा