हवाई टिकट नपाउँदा शिशुको मृत्यु भएको पीडित पक्षको आरोप
समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् । जिल्ला बाहिर उडान भर्दै आएका हवाई जहाजका कर्मचारीले गर्भवती महिलालाई टिकट नदिएपछि ०८१ मङ्सिर ४ गते जिल्ला अस्पतालमा शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका हुन् ।
खार्पुनाथ गाउँपालिका–१, लाली गाउँकी २० वर्षीया शान्ती शाहीलाई सुत्केरी व्यथा लागेको लक्षण देखा परेपछि मङ्सिर २ गते जिल्ला अस्पतालमा पुगेको पति सुरज शाहीले बताउनु भयो । जिल्ला अस्पतालमा शाहीको स्वास्थ्य चेकजाँच गर्दा उहाँको पेटमा भएको बच्चा उल्टो अवस्थामा हुनुका साथै जिल्ला अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नभएका कारण सोही दिन उहाँलाई जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो ।
अस्पतालको रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरिएको थियो । हवाई टिकटका लागि उहाँका पति जिल्ला प्रशासन कार्यालयमा पुग्नुभयो । तर जिल्ला प्रशासन कार्यालयले हवाई टिकटको व्यवस्था नगरेको शाहीले गुनासो गर्नुभयो ।
मङ्सिर २ गते रिफर गरिएकी गर्भवती महिलालाई मङ्सिर ४ गते जिल्ला बाहिर उद्धार हुनुपर्ने शाहीले उल्लेख गर्नुभयो । तर एयरलाइन्सले टिकट नदिएपछि उद्धार हुन नसकेको उहाँको भनाइ छ । मङ्सिर ३ गते नेपालगञ्जबाट नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेका थिए । उक्त एयरलाइन्समा पुगेर इमर्जेन्सी टिकटको माग गर्दा दुई ओटै एयरलाइन्सले टिकट नदिएपछि शिशुको मृत्यु भएको शाहीले आरोप लगाउनु भएको छ ।
उक्त विषयमा जिल्ला अस्पतालका कार्यालय प्रमुख प्रतिक्षा भारतीले गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेट भित्र बच्चा उल्टो रहेको हुँदा जिल्लामा जोखिम मोल्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको बताउनु भयो । प्रमुख भारतीका अनुसार हुम्लामा ब्लड बैङ्क नहुनु र गर्भवती महिलाको ओ नेगेटिभ ब्लड भएका कारण जिल्लामा कसैसँग उक्त ब्लड नभएका कारण सुविधा सम्पन्न अस्पतालमा जान अनुरोध गरेको बताउनु भयो । जिल्ला अस्पतालले एयरलाइन्स कम्पनी र जिल्ला प्रशासन कार्यालयलाई समेत टिकटको अनुरोध गरेको उल्लेख गर्नुभयो । कतैबाट टिकटको व्यवस्था नभएपछि शिशुको मृत्यु भयो भने आमाको ज्यान बचाउन सफल भएको प्रमुख भारतीको भनाइ छ ।
हवाई टिकटका लागि आधिकारिक सिफारिस नगरेको स्वीकार गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले मौखिकमा एयरलाइन्सका कर्मचारीलाई टिकटको विषयमा बुझ्दा गर्भवती महिला ३२ हप्ता नाघि सकेकोले अन्य यात्रुसँग पठाउन नमिल्ने एयरलाइन्सका कर्मचारीबाट प्रतिक्रिया आएको बताउनु भयो ।
उहाँका अनुसार गर्भवती महिलालाई उद्धारका लागि व्यक्तिगत हवाई चार्टर गर्नुपर्ने भएकोले मङ्सिर ३ गते उद्धार हुन नसकेको हो । नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…