हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट

  ०७६ कात्तिक २९ गते

असारपछिको लामो खडेरीका कारण वर्षे तथा हिउँदे अन्नबाली नफल्दा हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको छ ।

असारको खडेरी र त्यसपछि लागेको फौजी किराले मुख्य बालीको रूपमा रहेको मकै, कोदो तथा अन्य हिउँदेबाली समेत नफल्दा खाद्यान्न सङ्कट आइलागेको हो ।

खडेरीका कारण कोदोको बीउ, गहत, धान तथा मस्याङसमेत नफलेपछि खाद्यान्न सङ्कट आई लागेको हलेसीतुवाचुङ नगरपालिका–१ का तामन राईले बताए ।

राईका अनुसार पैसा हुनेले बजारबाट अन्न किनेर जिविका चलाए पनि आर्थिक अवस्था कमजोर भएकाहरूले खाद्यान्न सङ्कट झेल्नु परेको छ ।

घरमा खाने अनाज नभएपछि गिट्टी कुटेर छाक टारिरहेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार जोरसिमलका ६७ वर्षीय सेतीबहादुर राईले बताए ।

उनी हाल दिक्तेलबजार नजिकै पर्ने दिक्तेल–खानीडाँडा सडक खण्डमा गिट्टी कुट्दै पत्नी, छोरा–बुहारी र नातिसहित बसिरहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले १० केजी चामल राहत स्वरूप दिएपनि त्यसले एक÷दुई छाक मात्र टरेको उनले बताए ।

त्यो चामल सकिएपछि गिट्टी कुट्ने काम पहिल्याउँदै खाल्ले आइपुगेको उनले बताए । एक ट्याक्टर गिट्टीको ५ हजार रुपियाँ पाउने सेतीबहादुरको भनाइ छ ।

खाद्यान्न सङ्कटपछि सेतीबहादुरको परिवार जस्तै हलेसी क्षेत्रका अन्य सर्वसाधारण पनि कामको खोजीमा भौँतारिएका छन् ।

खाद्यान्न सङ्कटमा परेका स्थानीयलाई नगरपालिकाबाट सकेसम्म राहतको पहल गरेको मेयर ईवन राईले बताए ।

नगरपालिकाले प्रदेश तथा सङ्घीय सरकारसमक्ष राहतको लागि पहल गरिदिन आग्रह गरेको मेयर राईले बताए ।

संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने व्यवस्था गरिएको छ । त्यसैगरी उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने व्यवस्था छ भने उपधारा ३ मा प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ ।


रामधन राई