हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया

  ०८० वैशाख २८ गते

सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका छन् ।

सरकारले हलियाहरु मुक्त भएको घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत अधिकांश हलियाहरुको पुनर्स्थापना हुन नसेको र पुनर्स्थापना गरिएका भनिएकाहरुलाई पनि हचुवाँको भरमा पुनस्र्थापन गरेको भएपनि विभिन्न कारणले मुक्त हलियाहरु भ्mन समस्यामा रहेको पाइएको छ ।  भएपनि पुनर्स्थापनाको सवालमा

२१ भदौ, २०६५ भदौ २१ गते सरकारले देशभरीका हलियाहरु मुक्त भएको घोषणा गरेका  भएपनि १५ वर्षसम्म पनि आफूले परिचय–पत्र समेत पाउन नसकेको गन्यापधुरा गाउँपालिका–१ का मुक्त हलिया भीम सार्कीले गुनासो गर्नु भयो ।

उहाँले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जिल्ला हलिया पुनर्स्थापना कार्यदलको सिफारिसका आधारमा केही हलियाले ‘क’ देखि ‘घ’ वर्गको परिचय–पत्र वितरण गरिएको भएपनि परिचय–पत्र पाउन छुटेका मुक्त हलियाहरुको तथ्याङ्क समेत सङ्कलन कार्य पुरा नभएको बताउनु भयो ।

आफू अहिले पनि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका परिवारको खेत जोतिरहेको सार्कीले बताउनु भयो ।

जमिन भोग गरेबाफत हली, गोठालो, बाउसे, खेताला, खलिया, डोलिया र कमारोका रूपमा काम गर्दै आएका हलिायहरुले मुक्त भइसकेपछि पनि परिचय–पत्र नदिएको र टाँठाबाँठालाई मात्रै परिचय–पत्र वितरण गरिएको सर्कीको आरोप छ ।

हलियाहरूको तथ्याङ्क संकलन सहित पुनर्स्थापनालगायतका विषयमा सहमतिपछि मुक्तिको घोषणा गरिए पनि व्यवहारमा हलियाहरूको अवस्थामा परिवर्तन हुन सकेको छैन् । वैकल्पिक व्यवस्था नभएका कतिपय मुक्त हलियाहरू पुनः साहुको शरणमा जान बाध्य भएको अमरगढी नगरपालिका–२ का नरेशबहादुर सार्कीले बताउनु भयो ।

हलियाहरूको न घर छ, न जग्गा जमिन छ, न त परिचय पत्र नै । राजनीतिक दलका नेता, कार्यकर्ता र केही हलियाका प्रतिनिधिहरूले आश्वासन दिएपनि घाउँमा मल्हम लगाउनु भन्दा पनि पीडामाथि पीडा थप्ने काम मात्रै गरेको अमरगढी नगरपालिका–२ का महेश्वरी सार्कीले दुखेसो पोख्नु भयो ।

अमरगढी नगरपालिका–३ की तुलसा सार्कीले गरिखान जमिन नभएर सुकुम्बासी भएर कष्टकर जिवन विताउनु परेको दुखेसो पोख्नु भयो ।

हलिया मुक्तिको घोषणापछि आफूहरुको जिवनयापनमा सुधार आउने अपिक्षा गरिएको भएपनि अवस्थामा कुनै फरकपन नआएको अमरगढी नगरपालिका–३ की पार्वती टमट्टाले गुनासो गर्नु भयो–

उहाँले भन्नु भयो– ‘हलिया मुक्तिको लागि गाउँमा बिरोध गर्‍यौँ । आन्दोलन ग¥यौँ । सोचेको जस्तो केही भएन् । छोराछोरीलाई पढाउँनै समस्या भइसक्यो । सरकारले मुक्त घोषणा गरेर अलपत्र बनाइदिएको छ ।’

गन्यापधुरा गाउँपाकिाल पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लाको गाउँपालिका हो । यस गाउँपालिका क्षेत्रमा बसोबास गर्दै आउनु भएका मुक्त हलियाको अवस्था बढी दयनीय रहेको छ ।

गन्यापधुरा गाउँपालिका–१ साबिकको असिग्राम गाविसमा पर्ने भेटाको सिंगो मुक्त हलियाबस्ती सामुदायिक वनभित्र बस्न बाध्य भएको छ । गन्यापधुराको अशिग्राम भेटाका मुक्त हलियाले १४ वर्षदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् ।

२०६६ सालमा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ घरपरिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उहाँहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको सात वर्ष वितिसक्दा समेत उहाँहरुको पुनर्स्थापनाको अभावमा सोही वन क्षेत्रमा बस्न बाध्य भएका छन् ।

विगत १२ वर्षदेखि वनमा टहरा बनाएर बस्दै आएको भएपनि आफूहरूको पुनर्स्थापनाका लागि कसैले पहल नगरेको स्थानीय अनि विकको आरोप छ ।

‘हावाहुरी चल्दा रूख ढलेर किच्ने हो कि भन्ने सन्त्रासमा बाँच्नु परेको छ, गाउँपालिका र  जिल्ला प्रशासनमा पटक–पटक ज्ञापन–पत्र बुझाइ सक्यौँ । तर, पनि कसैले केही गरेनन्,’ भीमबहादुर सार्कीले भन्नु भयो ।

मुक्त हलियाहरुलाई सरकारले राहत वितरण गर्ने भनेर नागरपालिकाले आफ्नो सम्पूर्ण विवरण लिएर गएको भएपनि आफ्नो नाम नै कटाएर अन्यले राहत पाएको अमरगढी नगरपालिका–३ की सरस्वती सार्कीले गुनासो गर्नु भयो ।

हलिया मुक्ति भनेर घोषणा गरेको भएपनि हलो जोत्नु पर्ने बाध्यता अहिले पनि हटन नसकेको सुन्दरीदेवी सार्कीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘साहुको घरमा ज्याला मजदुरी गर्न गएपनि हलो जोत्न छोड्नेलाई अन्य काम दिदैनौँ भनेर फर्काइदिन्छन्। यसले बाध्य भएर पनि हलो जोत्नु पर्ने हुन्छ ।’

मुक्त हलिया समाज, डडेल्धुराले २ हजार ६ सय ३४ जना हलिया रहेको तथ्याङ्क मन्त्रालयमा पेस गरेको भएपनि जिल्लाका २ हजार ५ सय ५१ जना मुक्त हलियाले मात्रै परिचय–पत्र पाएको हलिया मुक्ति समाज, डडेल्धुराका पूर्वअध्यक्ष तुलाराम सार्कीले बताउनु भयो ।

उहाँले अहिले पनि झण्डै २ हजार मुक्त हलियाहरुको सङ्ख्या छुटेको भएपनि तीन तहका सरकारले छुट मुक्त हलियाको तथ्याङ्क संकलन गर्ने र पुनर्स्थापनाका लागि पहल नगरेको बताउनु भयो ।

अहिले पनि जिल्लाका अधिकांश हलियाहरू परिचय–पत्र लिनबाट समेत वञ्चित भएको राष्ट्रिय दलित समाज कल्याण संघ, डडेल्धुराका अध्यक्ष सुन्दर जैरू बताउनु हुन्छ । छुटेका हलियाहरूको तथ्याङ्क संकलन गरेर उनीहरूले पाउने सुविधा दिनु पर्ने उहाँको भनाइ छ । उहाँले भन्नु भयो– ‘मुक्त हलियाहरुको तथ्याङ्क संकलनका क्रममा केही छुटेका छन् । छुटेका हलियाहरूका लागि निरन्तर रूपमा संघर्ष गरिरहेका छौँ । स्थानीय सरकारले पनि तथ्याङ्क संकलनमा जोड दिएको छ । पहिले तथ्याङ्क संकलन गर्नेहरूले चौतारामा गएर संकलन गरे । कतिपयले मालिकको डरले नाम टिपाउन सकेनन्। त्यही भएर हलियाहरू छुटे ।’

नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले मुक्त हलियालाई सहयोग पुगोस भने दातृ निकायसँग सहयोग मागिरहेको बताउनु भयो ।

उहाँले केही मुक्त हलिायहरुको तथ्याङ्क लिन छुट भएकोले उहाँहरुको तथ्याङ्क संकलन गर्ने कार्य जारिरहेको बताउनु भयो ।

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले मुक्त हलियाको क्षेत्रमा तत्काल कुनै योजना तथा कार्यक्रम सञ्चालन नगरिएको भएपनि आगामी दिनका लागि विभिन्न कार्यक्रम तथा योजनाहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20230511dadeldhura (1)

photo20230511dadeldhura (2)

photo20230511dadeldhura (3)

photo20230511dadeldhura (4)

photo20230511dadeldhura (5)


शेरबहादुर भण्डारी