हलिया मुक्तिका १३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त हलिया

  ०७८ असोज ८ गते

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त भएको घोषणा गरेको भएपनि पुनर्स्थापना कार्य प्रभावकारी नहुँदा मुक्त हलियाको अवस्था अझै दयनिय बनेको छ ।

पुनर्स्थापना कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्त हलिया परिवारहरुको घर निर्माण नभएपछि उहाँहरु अहिलेसम्म पनि घर निर्माणका लागि रकम माग गर्दै शुक्लाफाँटा नगरपालिकामा धाउँदै आइरहेका छन् ।

मुक्त हलियाहरु घर निर्माण गर्नका लागि पटकपटक नगरपालिका पुगेर अनुरोध गर्दै आएका भएपनि नगरपालिकाले आश्वासन मात्रै दिने गरेको मुक्त हलियाहरुको आरोप छ ।

नेपाल सरकार र हलिया महासङ्घबिच भएको पाँच बुँदे सम्झौताको भावना र मर्मअनुरुप पुनर्स्थापनाको कार्य अपेक्षाकृत हुन नसकेपछि मुक्त हलियाहरु समस्यामा परेका हुन् ।

सरकारले २०६८ सालमा घरजग्गा केही नभएका लाई ‘क’ वर्ग, अर्काको जग्गामा घरछाप्रो लगाएर बस्दै आएका र आफ्नो घर नभएकालाई ‘ख’ वर्ग, जग्गा भएका तर घर नभएकाहरुलाई ‘ग’ वर्ग र घरजग्गा दुवै भएकालाई ‘घ’ वर्गमा वर्गिकरण गरी परिचय–पत्र वितरण गरेको थियो ।

कञ्चनपुर जिल्लामा मात्रै मुक्त हलियाहरुको सङ्ख्या २ हजार ६ सय ९९ जना, संशोधित सङ्ख्या २ हजार ५ सय १६, पुनर्स्थापना भएका १ हजार ७ सय ८५ र स्थानीय तहमा हस्तान्तरण गरिएको सङ्ख्या १ सय ६ जना रहेका छन् ।

भूमिव्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गत वित्तिय हस्तान्तरण सहितको अधिकार स्थानीय तहलाई दिएको छ ।

आर्थिक वर्ष ०७७ / ०७८ मा मुक्त हलिया पुनर्स्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले १ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएकोमा ‘क’ वर्गका मुक्त हलियाका २५ परिवारका लागि ५४ लाख रुपियाँको जग्गा खरिद गरी पुर्जा हस्तान्तरण गरिएको भएपनि अन्य रकम पाउन नसकेको मुक्त हलियाहरुको आरोप छ ।

मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा धनी लालपुर्जा दिइएको भएपनि घर निर्माणका लागि रकम उपलब्ध नगराएका कारण आफूहरुको समस्या समाधान हुन नसकेको मुक्त हलियाका अगुवा कृष्ण लुहारले बताउनु भयो ।

उहाँले भन्नु भयो– “जग्गा धनी लालपुर्जा छ । घर निर्माणका लागि रकम छैन् । नगरपालिकामा घर निर्माणका लागि रकम माग गरिरहेका छौँ । तर, आश्वासन मात्र पाउने गरिएको छ । आफूहरु बसेको क्षेत्रमा खानेपानीको व्यवस्था समेत छैन् । अस्थायी रुपमा बनाएका घरहरुमा कष्टकर जिवन बिताउनु परेको छ । १८ / २० घर दलित परिवार छौँ । खोलाको किनारामा बसोबास गर्दै आएका छौँ ।”

मुक्त हलिया कमला लावडले सरकारले हलिया मुक्ति घोषणा गरेको भएपनि पुनर्स्थापनाको कार्य प्रभावकारी रुपमा गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मुक्त हलियाहरुको अवस्था दयनिय छ । आधारभूत अधिकार समेत उपभोग गर्न नसकिएको अवस्था छ । मुक्त हलियाको पुनर्स्थापनासँगै शिक्षा, स्वास्थ्य र रोजगारीका सवालहरुलाई सरकारले सम्बोधन गर्नु पर्छ ।’

हलिया मुक्ति समाज, कञ्चनपुरका अध्यक्ष सिवी लुहारले सरकारले उपलब्ध गराएको रकमबाट जग्गा खरिद गरिएको एक वर्ष बितिसक्दा पनि घर निर्माणका  लागि मन्त्रालयबाट निकासा भएको रकम मुक्त हलियाहरुले पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाले जग्गा खरिद गरी लालपुर्जा दिएको छ । तर, घर निर्माण हुन नसकेपछि आफूहरु जग्गाको लालपुर्जा नगरपालिकालाई नै फिर्ता दिने सोचमा छौँ । धेरै पटक नगरपालिकालाई अनुरोध गरेका छौँ । तर, सम्बोधन भएको अवस्था छैन् । घर निर्माणका लागि नगरपालिकाले तत्तकाल रकम उपलब्ध गराउनु पर्छ ।’

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले मुक्त हलिया परिवारलाई घर निर्माणका लागि पहिलो किस्तावाफतको रकम उपलब्ध गराउनका लागि समन्वय गरिरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘घर निर्माण गर्नु पर्ने मुक्त हलियाहरुको निवेदनहरु सङ्कलन भइसकेको छ । घर निर्माणका लागि पहिलो किस्तावाफतको रकम तत्काल उपलब्ध गराउँछौँ । घर विहिन अवस्थामा कसैलाई पनि राख्दैनौँ ।’

photo20210924kanchanpur (3)

photo20210924kanchanpur (2)

s~rgk'/sf] eLdbQ gu/kflnsf ! af/s'08fdf /x]sf] d'Qm xlnfo j:tL . tl:j/ M ejfgL e§÷sflGtk'/


लिली कुँवर