हत्या घटनाको कसुरमा कांग्रेसका नेता आलमसहित चार जनालाई जन्मकैद

राजपुर नपा–४ निवासी तथा रौतहट क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई हत्या कसुरमा जिल्ला अदालत रौतहटले ०८१ वैशाख १३ गते जन्मकैदको फैसला गरेको छ ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपाली कांग्रेसका नेता शेष इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै २३ जना घाईते भएका थिए ।

घाइते भएका २३ जनालाई आलमले इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनु भयो । मुलुकी ऐन २०२० अनुसार आरोपितहरूलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार ढोडारीले बताउनु भयो ।

त्यसैगरी आरोपित मुक्ति साहले सफाइ पाएको श्रेस्तेदार ढोडारीले बताउनुको साथै हालसम्म फरार रहेका आरोपितहरू मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मलाकारको हकमा मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनु भयो ।

बम बनाउने क्रममा घाइते भएकाहरूलाई जिउदै इँटाभट्टामा जलाई हत्या गरेको आरोपमा प्रहरीले अफताब आलमलाई ०७६ असोज २६ गते गिरफ्तार गरेको थियो ।


गौरी न्यौपाने