हत्या घटनाका चार जना आरोपित गिरफ्तार

  ०७८ असोज ७ गते

झापा गाउँपालिका–१ माइती भई भारतको किसनगञ्ज जिल्ला, सिङ्गीमारी ग्राम पञ्चायत बस्दै आएकी ५० वर्षीया डोली भनिने धोन्नी टुडुको हत्या गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई असोज ६ गते सार्वजनिक गरेको छ ।

जग्गा विवादमा ५० वर्षीया धोन्नीको भदौ २४ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकका भाञ्जा भारत, किसनगञ्ज जिल्ला सिङ्गीमारी ग्रामका २३ वर्षीय ऐतवार सोरेन, मृतकका सौताका भाइ झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु सतार, झापा गाउँपालिका– १ का ५६ वर्षीय सिरी साइँला भनिने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई असोज १ गते गिरफ्तार गरि असोज ६ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

हत्या घटनामा प्रत्यक्ष संलग्न रहेका अर्का आरोपित मृतकका देवर ४५ वर्षीय मण्डल हेमरम फरार भएको र उनको खोजी भइरहेको डिएसपी थापाले बताउनु भयो ।

मण्डल हेमरम भारतको किसनगञ्ज सिङ्गीमारी ग्राम पञ्चायत बस्दै आएका र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालयका एसपी सानुराम भट्टराईले बताउनु भयो ।

पीडितको शव ०७८ भदौ २५ गते झापा गाउँपालिका–१ स्थित सानो माईबगरमा कम्मरभन्दा माथिको भाग तथा घुडाभन्दा मुनिको भाग नभएको, आन्द्राभुँडी बाहिर निस्किएको, अर्ध शरीर फेला परेको थियो ।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय कुमरखोदले गरेको अनुसन्धानका क्रममा मृतकका पतिको भदौ ९ गते मृत्यु भएको र धोन्नीका सन्तान नभएका कारण देवरसँग जग्गा विवाद बढेको पाइएको थियो।

धोन्नीको देवरसँग जग्गा सम्बन्धी विवाद बढेकोले सोही कारणले हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी सानुराम भट्टराईले बताउनु भयो  ।

शवको पोष्टमार्टम भदौ २५ गते मेची अञ्चल अस्पताल गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझि झापा गाउँपालिका–१ स्थित सानो माईबगरमा सद्गत गरेको छ ।


नरेश खाती