हत्या घटनाका आरोपित दुई वर्षपछि गिरफ्तार

  ०७९ माघ ९ गते

पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झो २०७७ साल फागुन १० गते राति हत्या गरेको आरोपमा प्रहरीले दुई वर्षपछि थप एक जनालाई गिरफ्तार गरेको छ ।

आरोपित ७२ वर्षीय तेज नारायण झालाई नेपाल भारतको सीमा क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका दम्पतीको एक महिनापछि चैत १२ गते पिपरा गाउँपालिका–२ अतरार जाने बाटोमा बोरामा शरीरलाई टुक्रा पारी गाडिएको अवस्थामा शव फेला परेका थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष कुमार पोखरेल अनुसार झा घटना वारदात पश्चात फरार भई भारतको गोहाटी शहरमा पुजारीको काम गरी बस्दै आएका थिए । तर उनी बेला बेलामा काकडभिट्टा नाका हुदै नेपालमा आउ जाउ गर्ने गरेको भन्ने सूचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाण्डौको सहयोगमा महोत्तरी प्रहरी टोलीले माघ ६ गते झापाको मेचीनगर–६ स्थित नेपाल भारतको सिमा नाकाबाटगिरफ्तार गर्‍यो।

यसअघि प्रहरीले हत्या घटनामा संलग्न सात जनालाई गिरफ्तार गरेकोमा तीन जना कारागारमा छन् भने चार जना धरौटीमा रिहा भएका छन् ।

कारागार जानेहरूमा पिपरा गाउँपालिका–५ बस्ने ४० वर्षीय कैलाश झा र ५२ वर्षीय रामबाबु यादव, र भारत बिहार राज्य, जिल्ला मधुवनी, थाना मधवापुर तरैया ग्राम पञ्चायत–२ अंदौली घर भई हाल पिपरा गाउँपालिका–५, बनौली बस्ने ४६ वर्षीय हरेन्द्र ठाकुर रहेका छन् । उनिहरूलाई २०७८ वैशाख १६ गतेको महोत्तरी जिल्ला अदालत जलेश्वरको आदेशले कारागार चलान गरिएको हो ।

त्यसैगरी २०७८ पुस ४ गतेको उच्च अदालत, जनकपुरको आदेशले पिपरा गाउँपालिका–५ का २६ वर्षीय सुरेन्द्र यादव, र २४ वर्षीय राजेन्द्र भन्ने रजिन्द्र यादव ५ लाख धरौटी राखी तारेखमा छुटेको छन् भने ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीया बिकास भन्ने बब्लु कुमार झा २ लाख धरौटी राखी तारेखमा छुटेका छन् ।

यसरी भएको थियो घटना
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र झाकी ६० वर्षीया पत्नी गीतादेवीको शव २०७७ चैत १२ गते पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा भेटियो । शवलाई गलाउन नुनको प्रयोग गरिएको प्रहरीले जनायो ।

झा दम्पती फागुन १० गते साँझ खाना खाएर सुतेका थिए । तर, बिहान दम्पती सुतेको ओछ्यान सहित बेपत्ता भएका थिए । घटनाको ३० दिनपछि झा दम्पतीको शव माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो । जग्गा बिक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको महोत्तरी प्रहरीको निष्कर्ष छ ।

मुसाफिर झा मालपोतका अवकाश प्राप्त सुब्बा थिए । त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा बिक्री गर्न दबाब दिने गरेको थियो । जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर झाको घर नजिकै थियो ।

रामबाबुलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरीले अनुसन्धान सुरु ग¥यो । रामबाबुको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान चलायो र ५२ वर्षीय रामबाबु यादव सहित यादवका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादवलाई २०७७ चैत ८ गते गिरफ्तार गर्‍यो । बयानका क्रममा उनीहरूले त्यो रङ भएको बताएका थिए । तर, विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरेपछि अनुसन्धान रामबाबुमाथि केन्द्रित भएको थियो ।

प्रहरीले जग्गाधनी भारतीय नागरिक हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण गर्‍यो । त्यसक्रममा ठाकुर फागुन १० गते काठमाडौंबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो । प्रहरीले ठाकुरलाई पनि काठमाडौंबाट गिरफ्तार गरेर महोत्तरी पुर्‍यायो। तर, बयानमा ठाकुरले काठमाडौंबाट जनकपुर पुगेको स्वीकार गरेनन् । पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा ठाकुरले ९९ प्रतिशत झुठो बोलेको देखिएको तत्कालिन प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली बोलाएर अनुसन्धान थालिएको थियो । ब्यूरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो । सीआइबीले जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर गर्‍यो। तर, झा दम्पतीको अवस्था अज्ञात रह्यो । गिरफ्तार परेकाहरूले अभियोग स्वीकार गरेका थिएनन् तर उनीहरूको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गर्‍यो । शङ्कास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली चैत १२ गते झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिण पिपरा–२ मा पुगेको थियो । बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको थियो ।

मृतक झा दम्पतीका छोरा मनिष झाले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते अपहरण गरी शरीर बन्धक सम्बन्धी किटानी उजुरी दिए । घटनाको अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई चैत १३ गते गिरफ्तार गर्‍यो । गिरफ्तार पर्नेहरूमा पिपरा गाउँपालिका–२ का तारा देवी झा उनका दुई छोरा कैलाश झा र विकास भनिने बब्लु झा थिए ।

मृतक दम्पती कै नातामा भतिजो पर्ने कैलाश झाले प्रहरीलाई दिएको बयानमा आफूलाई जग्गा व्यापारी हरेन्द्रले मुसाफिरको जग्गा बेच्न लगायौ भने दुई करोड रुपिया दिने भनि प्रलोभन दिएको उल्लेख छ । ठाकुर कै प्रलोभनमा आएर आफूले मुसाफिर झाको हत्या गर्ने निधो गरेको र त्यसका लागि उनको जेठी बुहारी अंशु झालाई नशा लाग्ने औषधि किनेर एकदिन अगाडि नै दिएको कैलाशले प्रहरीलाई बयान दिएको छ । अशुंले सो औषधि खानामा मिसाएर परिवारको सबैलाई खुवाएकी थिइन् र पछि मुसाफिर र गीता बेहोस् हुँदा दुवैलाई कैलाशले उठाएर आफ्नो घर लगि हत्या गरेको बयानमा भनिएको छ । कैलाश झाले दम्पतीको हत्या गरी शव एक महिनासम्म आफ्नै घरमा लुकाएर राखेका थिए । पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए । कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरू बरामद गरेको थियो ।

गिरफ्तार परेका तारा देवीको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरा लगायत सामग्री फेला परेको थियो । हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा जिल्ला अदालतका न्यायाधीश डा. रमेशप्रसाद रिजालको वैशाख १७ गतेको इजलासबाट प्रतिवादीहरू ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय राजेन्द्र भनिने राजिन्द्र यादव कैलाश झा, हरेन्द्र ठाकुर, र विकास भनिने बब्लु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई २ लाख रुपिया धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवी झाले धरौटी रकम बुझाउन नसक्दा उनी सहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको थियो । घटनामा संलग्न अन्य दुई जना रञ्जित मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश दिएको थियो ।

महोत्तरी जिल्ला अदालतमा मुद्दा नं ०७७–सी १–०२७६ मा प्रतिवादीहरू विरुद्ध अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दाहरू ०७८ वैशाख ३ गते दर्ता भई मुद्दा चलिरहेको छ ।

 


अजयकुमार साह