हत्या घटनाका आरोपित जेठाजुसहित तीन जना गिरफ्तार
जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकी ५६ वर्षीया कान्ति देवी विनको हत्या आरोपमा उनको जेठाजुसहित तीन जनालाई ०८० असोज १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
विनको हत्या आरोपमा उनका जेठाजुहरू ५९ वर्षीय चन्द्रिका राउत र ५७ वर्षीय अमिका भनिने अमीरीका राउत विन र अर्का एक जना जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकै ३६ वर्षीय भुट्टा भनिने लालबाबु राउत विनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कोमल साहले बताउनु भयो ।
उहाँले “सुरुमा शङ्काको आधारमा असोज ७ गते लालबाबु राउत विनलाई गिरफ्तार गरी अनुसन्धान गर्दा घटनामा मृतकका जेठाजुहरू चन्द्रिका र अमीरीका समेतको संलग्नता रहेको खुलेको” बताउनु भयो। त्यसपछि निजहरूलाई समेत असोज १४ गते गिरफ्तार गरी अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको एसपी साहले जानकारी दिनु भयो ।
कान्तिदेवी विनको ०८० असोज २ गते दिउँसो ३ बजेको समयमा विनकै घर कोठा भित्र घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीका अनुसार आरोपितहरूले ०८० असोज १ गते अन्दाजी राति ११ः४५ बजेको समयमा मृतकको घरमा सुरुङ बनाइ (सेनकाटी) घर भित्र चोरी गर्नको लागि प्रवेश गरेका थिए । उनीहरूले घर भित्र रहेको बक्साहरू खोतल्दै गरेको अवस्थामा मृतक बिउँझेपछि आफूहरूलाई चिनेको र पोल खुल्ने डरले निजहरूले मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाए । त्यस पश्चात, उनीहरूले सिरानीले मुख थुनी खुर्पीले घाँटी रेटी हत्या गरेको भनी आरोपित लालबाबुको बयानबाट खुलेको प्रहरीको भनाइ छ ।
वैदेशिक रोजगारको शिलशिलामा विदेशमा बस्दै आएका मृतकका छोरा जाहेरवाला अर्जुन मुखिया विन विदेशबाट घर आए पश्चात आरोपित लालबाबु राउत विनको नाममा ०८० असोज ७ गते किटानी उजुरी परेको थियो । त्यस पश्चात आरोपितलाई गिरफ्तार गरी सोही दिन अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाइएको थियो ।
अनुसन्धानको क्रममा आरोपितहरूको पोलिग्राफ परीक्षण समेत गराइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एसपी साहले बताउनु भयो । घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट एसपी साहको कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो ।
मृतकको छोरा वैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा पोष्टमार्टम पश्चात शव सदगदको लागि तत्काल मृतकको जेठाजु चन्द्रिका राउत विनले बुझेको प्रहरीले जनायो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…