हत्या घटनाका आरोपित छोरा गिरफ्तार

  ०७९ असोज १० गते

कलैया उपमहानगरपालिका–७ रङ्गपुरकी ५० वर्षीया सौतेनी आमा तेतरीदेवी यादवलाई ०७९ भदौ ३० गते घाँटीको अगाडिको भागमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २५ वर्षीय सौतेलो छोरा जयकिशोर यादवलाई वीरगंजबाट असोज ८ गते गिरफ्तार गरेको छ ।

यसअघि हत्या संलग्न आरोपित तेतरीका पति ५५ वर्षीय शिवनारायण यादवलाई भदौ ३१ गते घरबाटै गिरफ्तार गरेको थियो ।

तेतरीदेवीले नागरिकता बनाउन परिवारमा आग्रह गर्दा घर परिवारका सदस्यले नागरिकता बनाएपछि अंश दिनु पर्छ भनी अंश दिनुभन्दा हत्या गरौँ भनी सल्लाह गरेर हत्या गरेको माइती पक्षको आरोप छ ।

पीडित पक्षले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा असोज २ गते गरिएको अस्पतालका सूचना अधिकारी कबिन्द्रकुमार यादवले बताउनु भयो ।

आरोपित दुवै जनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले बताउनु भयो ।


भोलानाथ पौडेल