हत्या घटनाका आरोपित गिरफ्तार

तुम्बेवा गाउँपालिका–५ आरुबोटेकी ३५ वर्षीया गोमा फियाक लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति असफल कुरुङबाङलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० पुस २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमित कुशवाहाले बताउनु भयो ।

मिक्लाजुङ गाउँपालिका–३ ससुरालीमा आएका बेला आरोपितले पत्नी गोमाको हत्या गरेको ,सासू आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

पत्नीको हत्या लगत्तै फरार भएका आरोपितलाई घरमै लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको इन्स्पेक्टर कुशवाहाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा पुस २७ गते गरिएको छ ।

पीडित पक्षले शव बुझी पुस २८ गते तुम्बेवा गाउँपालिका–५ स्थित घाटमा सद्गत गर्ने तयारी गरेको छ ।


ईवारा जवेगु लिम्बू