हत्या घटनाका आरोपित गिरफ्तार

मेन्छयायेम गाउँपालिका– १ की ४१ वर्षीया सीता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय भतिज प्रदीप लिम्बूलाई साउन १० गते गिरफ्तार गरेको छ ।

दाजु सन्दिप लिम्बू र भाई प्रदीप लिम्बूबिच घरायसी विवादका क्रममा ०७८ असार २ गते कुटाकुट हुँदा छुट्टयाउने क्रममा काकी सीता लिम्बूलाई गोडामा खुकुरीले लागेको थियो ।

खुकुरी प्रहारबाट घाइते पीडितको अत्यधिक रगत बगेको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा असार ४ गते सीताको मृत्यु भएपछि पीडितका ४४ वर्षीय पति मदन लिम्बूले सन्दिप र प्रदीपविरूद्ध असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

दाजुभाई झगडा गर्ने क्रममा काकीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितमध्येका प्रदीप लिम्बू साउन १० गते सार्वजनिक यातायातमा इटहरीबाट म्याङ्गलुङ्ग आउने क्रममा म्याङ्गलुङ्ग बजारबाट गिरफ्तारीमा परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका अर्का आरोपित सन्दिप लिम्बू फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल असार ४ गते गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझी मेन्छयायेम गाउँपालिका–१ सङ्क्रान्तिमा सद्गत गरेको वडा–१ का पूर्व वडाध्यक्ष सहमान लिम्बूले बताउनु भएको छ ।


सुरेश खत्री