हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख २१ गते

इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया बिनिता काफ्लेको हत्या गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–८ सिङफ्रिङका ४१ वर्षीय देवेन्द्र रिमाललाई वैशाख २० गते गिरफ्तार गरेको छ ।

वैशाख १३ गतेदेखि बहिनी हराएको भन्दै पीडितका दाजु वैशाख १५ गते बहिनीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए ।

इलाम नगरपालिका–८ स्थित महभीरको जङ्गलमा गाडेको अवस्थामा स्थानीयले बिनिताको शव वैशाख १७ गते फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले वैशाख २१ गते आरोपितलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।

सूचना अधिकारी थापाका अनुसार मृतक बिनिता र आरोपित रिमालबिच बिगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्वन्ध रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

मृतक बिनिता र रिमालबिच शारिरीक सम्वन्धसमेत रहेका कारण महिलाले बिहे नै गरेर लैजानु पर्ने बताएपछि रिमालले बिनिताको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

शवको पोष्टमार्टम वैशाख १८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको छ ।

पीडित पक्षले वैशाख १८ गते शव बुझी सोही दिन झापास्थित कनकाई नदीमा सद्गत गरेको छ ।


बविता मैनाली