हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ २८ गते

गैडहवा गाउँपालिका–६ सूर्यपूराका आठ महिने बालकको घाँटी रेटर हत्या गरेको आरोपमा प्रहरीले मृतकका बुवा २१ वर्षीय श्रीराम मल्लाह र आमा २१ वर्षीया रेनु मल्लाहलाई भदौ २६ गते सुर्यपुराबाट गिरफ्तार गरेको छ ।

आरोपित श्रीरामको आमाले घरको सम्पूर्ण सम्पत्ति छोरीलाई दिएको विषयमा विवाद भएपछि भदौ २५ गते राति आरोपित दुबै जनाले हसियाले घाँटी रेटेर हत्या गरेको भन्दै छिमेकीले प्रहरीमा खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै प्रहरीले टोली घटनास्थल पुगेको थियो ।

घटनाका विषयमा मृतककी फुपु २० वर्षीया लक्ष्मी मल्लाहले भदौ  २६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर रविन्द्र महतले बताउनु भयो ।

शवको पोष्टमार्टम भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरी सोही दिन शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


रीमा बिसी