हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन १४ गते

त्रीवेणी गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काकोे हत्याको आरोपमा १५ र ११ वर्षीय दुई दाजुभाइलाई प्रहरीले ०७८ साउन १३ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकहहरूले साउन ११ गते भैँसी बाँध्ने गोठ नजिकैको मकै बारीमा मनकलालाई खुर्पा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ध्रुव कुमार श्रेष्ठले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपितहरूबाट सुनको बाली २ थान, मुन्द्री २ थान, नाकको फुली १ थान, हँसिया १ थान र हत्या गर्दा लगाएका हिलो सहितका कपडाहरू समेत बरामद गरेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

शव पोष्टमार्टम साउन १३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको अस्पतालका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले बताउनुभयो ।

भैँसीलाई घाँस हाल्न साउन ११ गते गएकी खड्का नफर्कीएको भन्दै साउन १३ गते मृतकका जेठा जेठाजु ४८ वर्षीय गणेश खड्काले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले सोही दिन कर्तव्य ज्यान र डाँका चोरी कसुरमा मुद्दा दर्ता गरेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।


मनिषा केसी