हत्या घटनाका आरोपित गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते गिरफ्तार गरेको छ ।

मृतकका बुवा छिन्नमस्ता गाउँपालिका–६ खुदीभखारीका ४२ वर्षीय रामकुमार साहले प्रमीलासमेतविद्ध असार ६ गते दिएको कर्तव्य ज्यानको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले असार २९ गते दर्ता गरेको थियो ।

हत्या गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा फालिएकी गर्भवती बेचनीदेवी साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र साह र ५२ वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिसकेको र अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला पञ्हरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

मृतकको सडेगलेको शव उनकै घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा जेठ ३१ गते फेला परेपछि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको छ । मृतकका पति सुर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा समेत जेठ २७ गतेदेखि बेपत्ता छन् ।

भारतबाट २४ वर्षपछि घर फर्केका मृतकका पति सुर्यनारायणको नागरिकता बनाई दिएमा अंश दिनुपर्छ भनी देवर, देउरानीले नागरिकता बनाउन अवरोध गरिरहेकोमा गाउँलेहरूको दबाबपछि साउन २ गते नागरिकता बनाइ दिने सहमति भएकाले सोही कारण हत्या गरेको मृतकका बुवा रामकुमारको आरोप छ । छोरीको शव फेला परेपनि ज्वाँई र नातिनी हालसम्म फेला नपरेपछि उनिहरूको पनि हत्या भएको हुनसक्ने उनको आशङ्का छ ।


मनोहरकुमार पोखरेल