हत्या घटनाका आरोपित गिरफ्तार

मिथिल नपा–५ श्रीपुर निवासी पर्यावरण अभियन्ता २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गणेशमानचारनाथ नपा–२ का १९ वर्षीय सत्यनारायाण महतोलाई माघ १० गते गिरफ्तार गरेको छ ।

घटनालगतै फरार भएका सत्यनारायणलाई वहाँको आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

पुस २५ गते बिहान ४ः१० बजे नजिकैको औरही खोलामा भइरहेको अबैध गिट्टी-बालुवा उत्खनन् कार्य रोक्न गएका बेला दिलीपको हत्या भएको पीडित परिवारको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतका अनुसार महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो । गिरफ्तार आरोपित सत्यनारायण सोही टिपकरका सहचालक (खलासी) हुन् ।

यसअघि प्रहरीले हत्या घटनामा संलग्न आरोपमा चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो, टिपरका चालक मुनीन्द्र महतो, लोडर चालक जितेन्द्रकुमार महतो, स्थानीय युवा रोशनकुमार यादवलाई गिरफतार गरि सार्वजानिक गरि सकेको छ ।


दिपेन्द्रप्रसाद सिंह