हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज ६ गते

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय ताराबहादुर मगरलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई साता लामो अनुसन्धानपछि ०८१ असोज ४ गते ताराबहादुर मगरलाई गिरफ्तार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालले बताउनु भयो ।

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरूस थापाको ०८१ भदौ २० गते शङ्कास्पदमा घरैमा शव फेला परेको थियो ।

घटनाका विषयमा अनुसन्धान गर्दै जाँदा ताराबहादुर मगर घटना भएको दिन निर्मला थापाकै घरैमा बसेको र विवाहेत्तर सम्बन्धमा खटपट आएपछि आरोपितले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईले बताउनु भयो ।

घरभित्र रगतले लतपतिएको अवस्थामा ०८१ भदौ २० गते आमाछोराको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कटारी नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय गीता गिरीले बालकको घाटीमा धारिलो हतियारले रेटेको जस्तो देखिएको र आमा शव घोप्टिएको अवस्थामा शव फेला परेको बताउनु भयो ।

खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको र आमा घोप्टो परेको अवस्थामा शव फेला परेको गिरीले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा भदौ २१ गते गरी सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेको थियो ।


राकेश नेपाली