हत्या घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ मङ्सिर १८ गते

२० वर्षीया युवतीको हत्या गरेको आरोपमा जनकनन्दनी गाउँपालिका-३ का २८ वर्षीय रामचलितर खत्वे मण्डल, २२ वर्षीय ज्ञानेन्द्र कुमार दास, २१ वर्षीय उमेश कुमार मण्डल र शहीद नगर नगरपालिका-८ का २४ वर्षीय रमेश कुमार मण्डलविरुद्ध ०८१ मङ्सिर १७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।

जनकनन्दनी गाउँपालिका-४ र कमला नगरपालिका-२ को सिमाना रहेको आमा खोलामा मङ्सिर ८ गते युवतीको शव प्लास्टिकको बोरामा बेवारिसे अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारी लगत्तै प्रहरी टोली घटनास्थल पुगेका थिए । शवको अनुहारको बायाँ गालामा चोट लागेको र घाँटी रेटिएको अवस्थामा थियो । शवको पहिचान खुल्न नसक्दा प्रहरी टोली मृतकको फोटो लिई स्थानीय विद्यालयहरूमा गएका थिए । सोही क्रममा शवको पहिचान मङ्सिर १२ गते खुलेको थियो ।

मृतकका बुबाका अनुसार छोरी र आरोपित रामचलितर मण्डल खतवेबीच विगत ६ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उक्त प्रेम सम्बन्धलाई अस्वीकार गर्दा ०८१ मङ्सिर २ गते छोरी घरबाट भागी रामचलितर मण्डल खतवेलाई विवाह गर्न दबाब दिएका थिए । तर, आरोपित रामचलितर खतवे मण्डलले आफूले नेपाली सेनामा जागिरको लागि फारम भरेको र जागिर खाएपछि मात्र विवाह गर्ने भने पछि एक अर्काबीच विवाद भएको मृतकका बुबाले मङ्सिर १२ गते प्रहरीलाई जानकारी गराएका थिए ।

पीडित पक्षले दिएको जानकारीको आधारमा मङ्सिर १३ गते आरोपितलाई गिरफ्तार गरी घटना बारे थप अनुसन्धानका लागि मङ्सिर १७ गते जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।

शवको पोस्टमार्टम मङ्सिर ९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।


सन्तोषकुमार यादव