हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप

  ०७८ वैशाख ३ गते

आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका चार जना सदस्य मिलेर कुटपिट गरी ०७७ फागुन २४ गते राति हत्या गरेर शव लुकाएको आरोपमा पीडित पक्षले इलाका प्रहरी कर्यालय सिम्रोनगढमा फागुन २५ गते र जिल्ला प्रहरी कार्यालयमा चैत ४ गते उजुरी दिएपनि आरोपितहरुलाई कारवाही नगरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा प्रतिनिधि भोलानाथ पौडेललाई पीडितको घरमा बोलाएर ०७८ वैशाख २ गते न्यायका लागि लागि पहल गरिदिन आग्रह गरेको छ ।

पीडित पक्षले पतिसहित ५० वर्षीय ससुरा जगत मुखिया, ३५ वर्षीय जेठाजू रामजिवन मुखिया र २५ वर्षीय छिमेकी रामनिवास मुखियाले सरिताको हत्या गरेको आरोप लगाउँदै आएको छ ।

घर परिवारले पलङ्, सिरक डसना दाइजो नदिएमा ज्यान मार्ने र शव लुकाउने धम्की दिँदै आएको सरिताको माइती पक्षले जनाएको छ ।

०७५ असार ७ गते धार्मिक परम्परा अनुसार गरिएको विवाहमा हिरो स्पलेण्डर मोटरसाइकल, नगद २ लाख रुपियाँ, जन्तीको गाडी भाडाका लागि ५० हजार रुपियाँ, ५० हजार रुपियाँ बराबरको कपडा र जन्तीलाई स्वगत गर्न ५० हजार रुपियाँ गरी ५ लाख रुपियाँ दिएको माइती पक्षले जनायो ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रोनगढका इन्स्पेक्टर दिपक सुवेदीले बताउनु भएको छ ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम