हत्या घटनाका आरोपितलाई जीवित रहेसम्म कैदको सजायको फैसला

  ०७८ माघ २१ गते

२८ वर्षीया तेस्रो लिङ्गी अजिता भुजेलको हत्या घटनाको कसुरमा तीन जनालाई जिल्ला अदालतले ०७८ माघ १९ गते जीवित रहेसम्म कैद सजायको फैसला गरेको छ ।

विहान हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा ०७६ साल माघ ४ गते हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी भुजेलको बलात्कारपछि हत्या भएको ठहर गर्दै जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले घटनामा संलग्न ६ जनामध्ये तीन जना मुख्य आरोपिलाई जीवित रहेसम्म कैदको फैसला सुनाएको छ ।

यस्तै हत्यामा संलग्न अन्यमध्ये एक जना नाबालकलाई १६ वर्ष कैद, एक जनालाई चार वर्ष कैद र एक जना महिलालाई एक वर्षको कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार अमृत घिमिरेले आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको बताउनुभयो ।

उहाँका अनुसार घटनाका मुख्य कसुरदार शुसील थापा, बुद्ध लामा र आशिष बललाई जबरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाकाको आरोपमा ९ वर्ष कैद, ९० हजार जरिवाना र पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको छ ।

हत्यामा संलग्न रहेका नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तोकिएको छ ।

यसैगरी सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको चोरी भएको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई ए वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।

पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहात कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।


पुष्पराज अधिकारी