हत्या घटनाकाे कसुरमा जन्मकैद सजाय पाएका सांसद निलम्बन

सशस्त्र प्रहरीका असई थमन वि‍.क हत्या कसुरमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई ०८१ वैशाख २१ गते निलम्बन गरिएको छ ।

आराेपित सांसद अभिराम शर्मालाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेकाे प्रदेश सभा सचिवालयले जनाएको छ । थमन विक हत्या कसुरमा सात जनालाई जन्मकैदको सजाय र सोही घटनाका आरोपितहरु लक्ष्मी महतो र पवन कापरलाई ०८० मङ्सिर २८ गते महोत्तरी जिल्ला अदालतले सफाई दिएकाे थियाे ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा रहेका प्रदिप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शङ्कर शाही भनिने रामशङ्कर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियाे । सोही घटनामा संलग्न रहेको आरोपमा सांसदबाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षको लागि थुनामा रहेका पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाई दिएको थियाे ।

जन्म कैदको सजाय तोकिएका सात जनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को मुद्दामा थप ६ महिना कैद र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको थियाे । उक्त क्षतिपूर्तिको रकम नेपाल सरकारलाई बुझाउनु पर्ने फैसला गरिएको श्रेस्तेदार नुतन शर्माले जानकारी दिएका थिए ।

सोही मुद्दामा रमेशप्रसाद साह, सतेन्द्र चौधरी भनिने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भनिने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विक्की साह, फुले यादव, रोहित कुमार शर्मा, ललवा भनिने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको थियाे ।


ममता विश्वकर्मा