हत्या गरेको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा रोल्पा लिवाङ नपा-४ घर भई जिल्ला प्रहरी कार्यालय जाजरकोटस्थित मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय कमल बिकलाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ ।

राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ २३ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । शवको जिल्ला अस्पताल जाजरकोटमा पोष्टमार्टम भएको रिमालले बताए ।

मृतक राधिकाको मोबाइल नम्बरको कल डिटेल अनुसार हत्यामा प्रहरी हवल्दार संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित प्रहरी हवल्दारलाई अदालतबाट म्याद थप गरी ज्यान मुद्दा चलाउने तयारी भइरहेको छ ।

घटनामा प्रहरी हवल्दारको संलग्न रहेको पत्ता लागेपछि अनुसन्धानको लागि प्रहरीले माघ २३ गते गिरफ्तार गरेका राधिकाका पति दलबहादुरलाई प्रहरीले माघ २६ गते रिहा गरेको छ ।

हत्यामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै आन्दोलित आफन्तजन र सदरमुकामका महिलाहरूले माघ २६ गते जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । आन्दोलित पक्षले मृतकका बालबालिकाको शिक्षा, स्वास्थ्य, गास, बास र कपासको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा ठूलो सङ्ख्यामा आन्दोलनकारीले नारा लगाउँदै घेराउ गरेपछि डिएसपी भावेश रिमालले आन्दोलन भइरहेको स्थानमा पुगी घटनाका बारेमा जानकारी गराउँदै प्रहरीको अनुसन्धानबाट राधिकाको हत्यारा पत्ता लागि सकेको र प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरिरहेको बताए ।


दिनेश श्रेष्ठ