हत्या कसुरमा जन्मकैद फैसला

  ०७९ असोज ७ गते

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानीया हत्या कसुरमा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत जनकपुरले सदर गर्दै घटनाका मुख्य योजनाकार तत्कालिन सांसद तथा पूर्व राज्यमन्त्री संजय साह (टकला) लाई जन्मकैद फैसला गरेको छ ।

असोज ५ गते उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्काको संयुक्त इजलासले सो फैसला गरेको हो ।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालत जनकपुरधाममा ६ दिनसम्म भएको सुनुवाइले जिल्ला अदालतकै फैसला सदर गरेको अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिनु भयो ।

जाहेरवालाको तर्फबाट उच्च सरकारी वकिल कार्यलयबाट सह न्यायाधिवक्ता यदुनाथ शर्मा, विपिनकुमार झा, हेमबहादुर कार्की र राज लाल यादवले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट बरिष्ठ अधिवक्ता श्याम मिश्र, विनोद शर्मा, चन्द्र मैनाली, धर्मेन्द्र शर्मा, प्रकाश कुमार घिमिरे, अधिवक्ता ओमप्रकाश सिंह, बलराम सुवेदी, सुदीप कोइराला, सुरेन्द्र महतो र रिंकु कुमारी यादवले बहस गरेका थिए ।

जिल्ला अदालतले संजय साह र सुटर मनक लामालाई जन्मकैद फैसला सुनाएको थियो । साहको नजिकका भनिएका एकलाल भनिने योगेन्द्र सहनी, चन्द्रदीप भनिने चनरदिप यादव र पवन लामालाई दश÷दश वर्ष सजायको फैसला गरेको थियो भने रामविनोद यादवलाई तीन वर्ष सजाय तोकिएको थियो । सोही फैसला सदर भएको छ ।

यी पाँचै जनालाई जिल्ला अदालतकै फैसला अनुसार सजाय हुने उच्च अदालतले फैसला सुनाएको छ । सोही मुद्दामा मुकेश चौधरी र रामकरण यादवलाई जिल्ला अदालतले त्यति बेला नै सामान्य जरिबाना गरेर रिहा हुने फैसला सुनाएको थियो ।

सिंघानियाको ०६६ फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो । हत्या भएको दश वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढाइएको थियो ।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले सञ्जय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए ।

सो मुद्दा यही सातादेखि सुनुवाइ भई फैसला भएको हो । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।


दिपेन्द्रप्रसाद सिंह