हत्या आरोपमा पति, ससुरा र देवर गिरफ्तार

  ०७९ साउन ८ गते

पर्सा गाउँपालिका–१ सितलपुर टोलकी २१ वर्षीया निशा यादवलाई हत्या गरी धान खेतमा गाडेको आरोपमा प्रहरीले २६ वर्षीय पति बालदत्त भनिने राजेशकुमार राय, ४६ वर्षीय ससुरा रामप्रताप राय र २३ वर्षीय देवर राजु यादवलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

जेठ २२ गतेबाट सम्पर्कविहीन भएकी निशा यादवको शव साउन ६ गते बिहान ८ बजे आफ्नै ससुराको धान खेतमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाका आरोपित निशाका पति, ससुरा र देवरलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी विजय यादवले बताउनु भयो ।

निशाको घरपरिवारका सदस्यहरूमाथि शङ्का लागेपछि प्रहरीले प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवले जानकारी दिनु भयो ।

साउन ६ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालयका एसपी प्रवीण पोखरेल समेतको टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको डिएसपी यादवले बताउनु भयो ।

निशा यादवलाई हत्या गरी जेठ २२ गते नै धान खेतमा गाडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठ २३ गते निशाका बुबा रामकैलाश राय यादवले छोरी बेपत्ता भएको भन्दै खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको निवेदन दिनु भएको थियो ।

त्यसकै भोलिपल्ट जेठ २४ गते ससुराले पनि बुहारी निशा हराएको भन्दै खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवले जानकारी दिनु भयो ।

घटना के कारणले भएको हो ? सो विषयमा अनुसन्धान भइरहेको डिएसपी यादवले बताउनु भएको छ ।

शवको पोष्टमार्टम साउन ६ गते नै प्रादेशिक अस्पताल मलङ्गवामा गरी माइती पक्षलाई बुझाइएको डिएसपी विजय यादवले बताउनु भयो ।


बुधन साह