हत्या घटनाका आरोपित सांसद कोइरी निलम्बित

हत्या घटनाका आरोपित महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई ०८० वैशाख १९ गते निलम्बन गर्नु भएको हो ।

प्रहरी प्रधान कार्यालयले उच्च अदालत जनकपुरको फैसला कार्यान्वयनमा सहयोग गर्न ०८० वैशाख १७ गते संसद सचिवालयलाई पत्र पठाएको थियो ।

प्रहरीले पत्र पठाएपछि सभामुख घिमिरेको निर्देशन अनुसार सङ्घीय संसद सचिवालयले ०८० वैशाख १९ गते सूचना टाँसेर कोइरी निलम्बनमा परेको जानकारी दिएको हो ।

यस अघि ०७९ पुस ७ गते पनि प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको पत्र संसद सचिवालयमा पठाएको भए पनि सो समय प्रतिनिधिसभा नियमावली जारी नभएको भन्दै सचिवालयले निलम्बन गरेको थिएन । तर कोइरी प्रतिनिधिसभाका २५ बैठकमा अनुपस्थित हुँदै आउनु भएको थियो ।

५८ वर्षीय लक्ष्मी महतो कोइरी ०५४ सालको स्थानीय तह निर्वाचनमा महोत्तरीको तत्कालीन निगौल गाउँ विकास समिति (गाविस) मा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका पूर्व गाविस अध्यक्ष समेत हुन् ।

संविधान सभाबाट नेपालको संविधान २०७२ जारी जारी हुने अन्तिम चरणमा आइपुग्दा भएको मधेश आन्दोलनको बेला कोइरी तत्कालीन सदभावना पार्टीसँग आबद्ध हुनु हुन्थ्यो ।

सोही आन्दोलनका क्रममा ०७२ भदौ २५ गते सीमा सुरक्षा कार्यालयको जलसागर महोत्तरीमा दरबन्दी रही सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताहरूले गिरफ्तार गरी लाठी, भाटा, लात्ती, मुक्कासमेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले सोही दिन जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला लैजाँदै गर्दा महोत्तरी-८ सनोखडाको धान खेतमा आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए ।

प्रहरीले मृतक असई थमन विककी पत्नी शोभा गहतराजको उजुरीलाई आधार मानेर उक्त घटनामा संलग्न भएको आरोपमा कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलाएको थियो ।

कोइरीलाई उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते १ लाख रुपियाँ धरौटीमा छाड्ने आदेश दिएपछि जिल्ला अदालत महोत्तरीको फैसलाविरूद्ध जिल्ला  सरकारी वकीलको कार्यालय महोत्तरीले उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गरेको थियो ।

पुनरावेदनको मुद्दामा उच्च अदालत जनकपुरका तत्कालीन न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले ०७७ मङ्सिर १९ गते जिल्ला अदालतको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि फरार रहेकै अवस्थामा कोइरी ०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट महोत्तरी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए ।

कोइरी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सङ्घीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) बाट महोत्तरी क्षेत्र नम्बर १ को उम्मेदवार बनेर तत्कालिन नेकपा माओवादीका उम्मेदवार गिरिराजमणि पोखरेलसँग ४ हजार २ सय ८४ मत अन्तरले पराजित हुनु भएको थियो ।

पोखरेलले त्यतिबेला २३ हजार ७ सय ७६ मत ल्याउँदा कोइरीले १९ हजार ४ सय ९२ मत ल्याउनु भएको थियो । ०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोइरी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

उक्त निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई १ हजार ३० मत अन्तरले पराजित गरेका थिए । कोइरीले २३ हजार ४ सय २ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याउनु भएको थियो ।

०८० वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकबाट कोइरी सांसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा सिफारिस हुनु भएको थियो ।


विमल पौडेल