अनुसन्धानप्रति आशङ्का गर्दै पीडित पक्षद्वारा शव बुझ्न अस्वीकार

  ०७८ असोज १९ गते

हत्यालाई आत्महत्या बनाउन खोजेको भन्दै मृतकपक्षले तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सिता भण्डारीको मृत्यु भएको एक महिनासम्म पनि शव बुझ्न मानेका छैनन् । हत्यालाई आत्महत्या बनाएर आरोपितलाई बचाउन खोजिएको भन्दै मृतक पक्ष आन्दोलित छन् ।

सिता भदौ २० गते मृत अवस्थामा भेटिएपछि मृतकका बुवा हरिप्रसाद भण्डारीले मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको, मुखभरी निलाडाम भएको र भुँईमा लडेको अवस्थामा रहेको भन्दै  भदौ २० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि प्रहरीले आत्माहत्या दुरूत्साहनको मुद्दा चलाएको थियो ।

उजुरीका आधारमा प्रहरीले मृतकका पति ४२ वर्षीय टीका पौड्याल, अमाजु  ५० वर्षीया बिष्णु पौड्याललाई भदौ २० गते र जेठाजु ५३ वर्षीय हरि पौडेललाई भदौ २५ गते गिरफ्तार गरेको थियो ।

अदालतले म्याद थप गर्न नमानेको र प्रहरीले आरोपितहरूलाई छाड्ने सङ्केत गरेको भन्दै मृतकपक्षले आन्दोलन थालेका थिए ।

भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा सिताले सुसाइड नोट लेखेर आत्महत्या गरेको अनुसन्धानबाट देखिएको जनाएको छ । प्रहरीका अनुसार सीता र उनका पति टिका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले लेखेको सुसाइड नोट फेला परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाका अनुसार सो नोटमा ‘‘मलाई माफ गरि दिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै कोखबाट जन्मिन चाहान्छु । मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ लेखिएको छ ।

‘आफ्नै दैलोकी चेलीको शङ्कास्पद मृत्यु भएको महिना दिन बित्यो, दिनहुँ आन्दोलन भएको छ तर गृहमन्त्रीले वास्तै गर्नुभएन’–मृतकका बुबा हरिप्रसाद भण्डारीले भन्नु भयो ।

घटनामा राजनीतिक र आर्थिक चलखेल भएको मृतकका माइती पक्ष र स्थानीयको आरोप छ ।

मृतकका भाई सुरज भण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले सुसाइड नोट फेला परेको भनी प्रेस विज्ञप्ति जारी गर्नु बनावटी र घटनालाई मोड्ने चालबाजी भएको आरोप लगाउनु भयो । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैगरी, तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । मेयर बासुदेव घिमिरे नेतृत्वको टोलीले असोज १८ गते गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्बजनिक गर्न र दोषी उपर कानुनी कारबाही गर्न माग गरिएको छ ।


रीमा बिसी