हत्याको घटनाका दोषीलाई कानूनी दायरामा ल्याऊः आयोग

  ०७७ मङ्सिर २५ गते

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भएको घटनाका सम्बन्धमा आयोगले २०७७ मङ्सिर २४ गते एक विज्ञप्ति जारी ध्यानाकर्षण भएको बताएको हो ।

कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काको आधारमा स्वेच्छाचारी रूपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न आयोगले आग्रह गरेको छ । उक्त घटनामा सङ्लग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगको प्रदेश कार्यालय बिवराटनगरले घटनाको अनुगमन गरिरहेको आयोगले स्मरण गरेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको आयोगले जनाएको छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनीतिक विचारहरू अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरूलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको आयोगले विज्ञप्ति मार्फत् स्मरण गराएको छ ।

आप्mना विचारहरूमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे