हत्याको आरोपमा प्रहरी हवल्दार गिरफ्तार

खाँडाचक्र नपा–१ निवासी २९ वर्षीय सुमन शाहीलाई हत्या गरेको आरोपमा हुल्म प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३१ वार्षीय यमबहादुर थापा र खाँडाचक्र नपा ७ का २२ वर्षीय जितेन्द्र मल्ललाई प्रहरीले फागुन १९ गते गिरफ्तार गरेको छ ।

झडप नियन्त्रण गर्ने भन्दै प्रहरीले लखेटेपछि माघ २९ गते बेपत्ता भएका शाहीको लास फागुन १७ गते मृत अवस्थामा भेटिएका थियो ।

फागुन १८ गते पीडित परिवारले प्रहरी हवल्दार थापा र स्थानीय मल्ललाई जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछिको जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि गिरफ्तार गरी हिरासतमा राखेको हो ।

प्रहरीले लखेटेर कुटपिट गरी नदीमा फालेर हत्या गरेको आरोप लगाउँदै मृतकका पिता दुर्गबहादुर शाहीले किटानी दिएपछि आरापितहरूलाई गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताएका छन् ।

कालिकोट जिल्लाको स्थानीय जिते बजारमा गाडी स्टाफ र बजारका युवाहरूबीच विवाद भएपछि प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा बेपत्ता भएको प्रहरीले वताउँदै आएको थियो ।

मृतकका परिवारले प्रहरीले नै लखेटेर मारिएको हुनाले दोसीलाई कार्वाही उचित क्षतिपूर्तिको मागसहित किटानी जाहेरी दिएका छन् ।


कालीबहादुर मल्ल