हत्याका घटनाका फरार आरोपित गिरफ्तार

  ०७९ पुस १४ गते

हेटौँडा उपमहानगरपालिका–१६ बाबेडाँडाका १२ वर्षीय मुस्कान थिङको हत्याको आरोपमा सोही ठाउँका ३८ वर्षीय आइत सिं भोम्जनलाई प्रहरीले ०७९ पुस १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालक पुस १० गते बिहान घरबाट तीन सय मिटर पश्चिममा रहेको सामुदायिक वनमा रूखमा कपडाको डोरीको पासो लगाई झुण्डिएको र हात बाँधिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो ।

शवको पाष्टमार्टम पुस १० गते हेटौँडा अस्पतालमा भयो ।

अनुसन्धानको क्रममा भोम्जनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो ।

मुस्कानले आफूलाई जिस्काएपछि आक्रमण गर्दा संवेदनशील अङ्गमा लागेर मुस्कानको मृत्यु भएको भोम्जनले स्वीकारेको डिएसपी कार्कीले जानकारी दिनुभएको छ ।

आरोरपित भोम्जनलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट अनुमति पाएको उहाँले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुरमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनु भयो ।


पुष्पराज अधिकारी