स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक सङ्घलाई आग्रह गरेको छ ।

असोज ९ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सङ्घले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए ।

चिकित्सक सङ्घले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट सङ्घको माग सम्बोधन हुने मन्त्री बस्नेतले बताए ।

सरकारले असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

सरकारको सो निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राख्दै असोज ६ गतेदेखि देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गर्दै आन्दोलन गरिरहेको छ ।


सुभाष साह