स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी र औषधिको अभाव, सेवाग्राही मर्कामा

  ०७९ फागुन २९ गते

स्याङ्जा जिल्लामा तीन ओटा सरकारी अस्पताल, दुई ओटा सामुदायिक अस्पताल, ६७ ओटा  स्वास्थ्य चौकी, एव. ४६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लाको सदरमुकामको सरकारी अस्पतालमा एक जना विशेषज्ञको दरवन्दी रहेकोमा विगत चार महिना देखी सो पद रिक्त रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका सुचना अधिकारी विष्णु प्रसाद सुवेदीले बताउनु भयो । सो पदमा वाहालवाला डाक्टरको सरूवा भए पछि अर्को विशेषज्ञ डाक्टर पठाइएको छैन ।

स्याङ्जामा कुल ४५० जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको छ । जस मध्ये २५ दरवन्दी रिक्त छन् भने १० जना अध्ययन विदामा रहेका छन् जसले गर्दा हाल ४१५ जना कर्मचारी मात्र आफ्नो क्षेत्रमा कार्यरत छन् ।

स्वास्थ्य जस्तो गम्भीर विषयमा पनि यस्तो लापरवाहीले स्वास्थ्य क्षेत्रमा ठुलो समस्या पुग्ने सेवाग्राहीहरूको गुनासो रहेको छ ।

आँधिखोला गाउँपालिका– ६ का मिलन ढकालले पहिला त स्वास्थ्य संस्थामा समयमानै स्वाथ्य जाँच गराउनै कठिन छ, यदि छिट्टै स्वास्थ्य जाँच भयो भने पनि औषधि नपाइने समस्या अत्यधिक रहेको बताउनुभयो ।  नेपाल सरकारले गराएको स्वास्थ्य बिमा लिएर स्वास्थ्य संस्था जाँदा औषधि पाइदैन । यो उहाँको मात्र नभई धेरै सेवा ग्राहीको समस्या रहेको पाइएको छ ।

स्याङ्जा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट कृष्ण कुमारी कार्कीका अनुसार स्वास्थ्य बिमा सँग सम्वन्धित औषधि अस्पतालले नै दर भाउ बोलपत्र आह्वान गरेर मात्र खरिद प्रक्रिया अघि बढाइने जसको लागि १५ दिन सम्म समय लाग्न सक्ने हुनाले सो अवधिमा औषधि आपुर्तीमा समस्या देखीने बताउनु हुन्छ ।

अस्पतालले खरिद गर्ने बाहेकका औषधिहरू प्रदेश आपूर्ती केन्द्रले गर्दछ । उक्त केन्द्रका स्टोरकिपर सुस्मिता शर्मा संग फोन सम्पर्क गरि बुझ्दा स्थानिय तह, प्रदेश तह र केन्द्र तहको स्पष्ट निति नभएका कारण जिल्लाका अस्पतालहरूमा औषधि आपूर्तीमा समस्या रहेको बताउनुहुन्छ ।


राधा कृष्ण शर्मा