स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा

संविधानको भाग ३ अन्तर्गतको मौलिक हक र कर्तव्यको दफा ३५ को उपदफा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ ।

तर, सिन्धुपाल्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहँुदा सेवा लिन आएका बिरामीहरू मार्कामा परेका छन् ।

पाँच जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक जना स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्थ्यो ।

कार्यालयमा रहेका ती एकजना डा. अमिरेन्द्र पण्डित पनि बिहान १० बजे कार्यालयमा हाजिर गरेर आफ्नै निजी क्लिनिकमा गएकाले आफू मार्कामा परेको इन्द्रावती गाउँपालिका–२ कुन्चोकका केशर न्यौपानेले बताउनुभयो ।

पाइल्सको बिरामी भएर चार कोष टाढाबाट उपचार गराउन आउनुभएका न्यौपानेले तीन घण्टा कुर्दापनि स्वास्थ्यकर्मी नभेटेकाले आफू मार्कामा परेको बताउनुभयो ।

स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा पुग्नुभएकी चौतारा साँगाचोकगढी नपा–७ की भगवती धितालले पनि स्वास्थ्यकर्मी नभएकाले समयमा स्वास्थ्य जाँच गराउन नपाएको बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख बसन्वदा कौडिन्यायानीले कार्यालयको कामले काठमाडौँ गएको र कर्मचारी समायोजनको समस्याले स्वास्थ्य संस्थामा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको बताउनुभयो ।

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा परेको घटनाबारे प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले कुनै जानकारी नदिएर कार्यालय बाहिर गएकाले सम्बन्धित निकायमा जानकारी गराउने बताउनुभयो ।


नातिबावु धिताल