स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीले स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन् ।

दसैँ र तिहारको विदामा घर गएका जिल्ला बाहिर र जिल्ला भित्रैका स्वास्थ्यकर्मी दसैँ तिहार सकिएको लामो समय बितिसक्दा पनि नफर्किएको डोल्पु गाविस–९ का उर्गिन लामाले बताए ।

यसैगरी पश्चिम क्षेत्रको ह्याङ्गलु, सुकाढिक, गम्था, श्रीकोट, सेरी गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पनि स्वास्थ्य संस्थामा नर्फकेको ह्याङ्गलु गाविस–९ का नन्दबहादुर रोकायले आरोप लगाए । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नफर्कँदा सामान्य बिरामी उपचारका लागि दुई दिन हिँडेर सदरमुकाम गमगढी पुग्न बाध्यता रहेको रोकायले बताए ।

डोल्पु, मुगु, किम्रि र पुलु गाविसका प्रत्येक स्वास्थ्य चौकीमा कार्यालय सहयोगी, अनमी, अहेव र सिनियर अहेव एक/एक जना गरी चार जनाको दरबन्दी भएपनि हालसम्म स्वास्थ्यकर्मी ती स्वास्थ्य संस्थाहरूमा नफर्केको डोल्पु गाविस–९ का उर्गिन लामाले बताए ।

सोरु भेगका भिई, जिमा, धैनाकोट, कालै, नार्थपु र खत्याड भेगका ह्याङ्गलु, सुकाढिक, गम्था, श्रीकोट र सेरी गाविसका प्रत्येक स्वास्थ्य संस्थामा कार्यालय सहयोगी, अनमी, अहेव र सिनियर अहेव एक/एक जना गरी चार जनाको दरबन्दी भएकोमा हाल ती स्वास्थ्य चौकीमा कार्यालय सहयोगीले सेवा दिँदै आएको कालै गाविस–१ का किर्ते शाहीले जानकारी दिए । कार्यालय सहयोगी चाँही स्थानीय नै भएकोले कार्यालयमा नियमित उपस्थित भएको शाहीले बताए ।

स्वास्थ्य संस्थामा कर्मचारी नरहेको मौखिक जानकारी आएकाले सबै स्वास्थ्य संस्थामा अनिवार्य बस्नुपर्ने परिपत्र गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सरोज अधिकारीले बताए । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बस्ने गरेका छन् वा छैनन भनेर सबै जानकारी समयमा नहुने बताउँदै उनले भने–‘स्वास्थ्य चौकी व्यवस्थापन समितिको संयोजक सम्बन्धित गाविसका सचिवले अनुगमन र व्यवस्थापन नगरिदिँदा स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेको हुन सक्छ ।’


जीवन सेजुवाल