स्वास्थ्य संस्थामा खानेपानीको समस्या, सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा

  ०७८ कात्तिक ३० गते

भूमिकास्थान नगरपालिका– ८ नुवाकोट स्वास्थ्य चौकीमा नियमित खानेपानीको छुट्टै व्यवस्थापन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा भएको छ ।

स्वास्थ्य संस्थाका इन्चार्ज शुरेस गैरेका अनुसार पानीको श्रोत भूमिकास्थान नपा– १० धनचौरको सेङ्लेङ् लेकबाट आउने र खिल्जी असुरकोटसम्म जाने पाईप लाईनको खानेपानी ट्याङकी यही स्वास्थ्य चौकीको नजिकै भए पनि  खानेपानी छुट्टै धाराको व्यबस्था हुन सकेको छैन ।

उपभोक्ताहरूको घरमा जाने पानीका धाराबाट पाईप जडान गरेर शौचालय प्रयोग तथा सरसफाईका लागि प्रयोग गर्ने गरेको गैरेले बताउनु भयो ।

स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी रहेकोमा एक जना अध्ययन बिदामा हुनु हुन्छ ।  ५ जनाले दैनिक  १५ देखि २० जनासम्म सेवाग्राहीलाई सेवा दिदै आएका छन् ।

सेवाग्राहीहरूमा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरु बढी मात्रमा आउने गरेको गैरेले बताउनु भयो । अहिले चिसो मौसम बढ्दै गएकोलेरुघा खोकी ज्वरोका बिरामी बढ्न थालेका छन् ।

स्वास्थ्य चौकीको भवन पुरानो जीर्ण अवस्थामा छ । भौतिक पूर्वाधारको अभावले गर्दा सेवा ग्राहीहरूलाई चेक जाँच, औषधि वितरण, परामर्श सेवा दिन र सेवा ग्राहीले सेवा लिन अत्यन्तै कठिनाई भएको शुरेस गैरेले बताउनु हुन्छ ।

नगर स्वास्थ्य शाखा संयोजक देब बहादुर थापाका अनुसार खाने पानीको मात्र समस्या नभएर भौतिक पूर्वाधारको पनि समस्या रहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण गर्न स्थानीय योजना तथा बजेटले पुग्ने दैखिदैन । स्वास्थ्य संस्था सञ्चालन गर्नका लागि प्रायाप्त कोठा नहुनाले आवश्यक औजार मेसिन, औषधि र स्वास्थ्य सामग्रीहरू व्यवस्थापनमा समस्या समस्या भएको थापाले बताउनु भयो  ।

स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको र भवन निर्माणका लागि पाँच रोपनी जग्गा उपलब्ध गराएकोले  आगमी योजनामा भवन निर्माण गर्न पहल गर्ने  बताउनु भयो ।

 


कूलबहादुर नेपाली