स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

डिलाशैनी गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरुलाई समस्या भएको छ । स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधी अभाव हुँदा स्थानीय सेवाग्राहीहरुलाई समस्या भएको डिलाशैनी गाउँपालिका–१ का स्थानीय बिमला बोहराले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य संस्थामा सामान्य सिटामोलको समेत अभाव छ । स्वास्थ्य संस्थामा आएका बिरामीहरु रित्तोहात फर्किन बाध्य छन् ।’

डिलाशैनी गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थाहरुमा औषधी अभाव छ । विगत दुई महिनादेखि स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधीको अभाव हुँदा समस्या भएको डिलाशैनी गाउँपालिका–५ का स्थानीय तथा गाउँकार्यपालिकाका सदस्य दुर्गा धामीले बताउनु भयो ।

लामो समयदेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन रहेकाले औषधी खरिद प्रक्रियामा ढिलाई हुँदा निःशुल्क औषधीहरुको अभाव भएको र समस्या समाधानका लागि गाउँपालिकासँग आग्रह गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुरुषाेत्तम नाथले बताउनु भयो ।

औषधी खरिद प्रक्रिया अगाडि बढाइसकिएकोले केही दिन भित्रै औषधीको समस्या समाधान हुने गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनु भयो ।


नरी बडु